ओडारमा बस्दै आएका एक जनाको रहस्यमय मृत्यु, दुई जना पक्राउ-Sutra News

ओडारमा बस्दै आएका एक जनाको रहस्यमय मृत्यु, दुई जना पक्राउ

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

चन्दननाथ नगरपालिका-१ कुलालवाडास्थित एक ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मृत्यु भएको छ । १५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको समयमै उद्धार नहुँदा गए राति ओडारमै रहस्यमय मृत्यु भएको हो ।



खाद्यान्न र लत्ता कपडाको राहत दिए पनि जुम्लामा बढ्दै गएको अत्यधिक चिसोबाट ओत लाग्ने ठाउँ नहुँदा ओडारमा बस्ने कुलाललाई तलमाथि हुन सक्ने चिन्ता सरोकारवालाले गरिरहेका थिए ।

चाडै बस्ने आवास घर बनाइदिने, नागरिकता उपलब्ध गराउने तयारीमै रहे पनि कुलालको गए राति रहस्यमय मृत्यु भयो ।

गएको शुक्रबार मात्रै कुलाललाई २ बोरा चामल, सिरक, कम्बल राहत दिइएको थियो । तर, उनले तत्काल घर बनाइदिन माग गरेका थिए । १५ वर्षदेखि ओडारमा बास बस्दै आएका कुलालले चामल कम्बल चोर्न सक्ने आफूमाथि कसैले आक्रमण गर्न सक्ने भन्दै उद्धारका लागि पनि माग गरेका थिए ।

तर प्रशासन प्रहरी, स्थानीय सरकार सरोकारवाला निकायले उनकै राहत उद्धारमा जुटिरहेकै बेला उता कुलालको रहस्यमय मृत्यु भएको स्थानीय रविन कुलालले बताए । उनका अनुसार चेते कुलालको मृत्यु आश्चार्यजनक छ ।

‘सुरक्षित बस्ने घर भएको भए यस्तो घटना हुने थिएन होलो,’ उनले भने । घटनाको सत्यतथ्य छानबिन गरी घटनाको दोषीमाथि कारबाही हुनुपर्ने उनको भनाई छ ।  प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले ओडारमै बस्दै आएका मृतक चेते कुलालको मृत्यु घटनामा संलग्न संकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको बताए । हाल पक्राउ परेका दुई जना माथि थप अनुसन्धान भइरहेकोले तत्काल नाम ठेगाना नखुलाइएको उनको भनाई छ ।

टाउकोमा गम्भीर चोट लागेर रगत बगिरहेको अवस्थामा उनी भेटिएका थिए । बस्दै आएको ओडार भन्दा धेरै परसम्म कुलालको शव घिसाएको अवस्था थियो । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टम गरिएको छ ।

अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार आइएनएफ र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयोगमा शुक्रबार ६० किलो चामल, एक सिरक, एक डसना र दुई कम्बल राहत उपलब्ध गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट