बुधबार साँझसम्म निषेधाज्ञा जारी-Sutra News

बुधबार साँझसम्म निषेधाज्ञा जारी

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबास बजारमा निषेधाज्ञा जारी गरिएको छ । सर्लाही प्रशासनले जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलबास बजारमा बुधबार साँझसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।



दुर्घटनाको विषयलाई लिएर भएको प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले बयलबास बजार आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको सूचनामा जनाएको छ ।

मंगलबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले मंगलबार दिउँसो ३ देखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

ईलाका प्रहरी कार्यालय केशरगंजबाट पूर्व सागरनाथ टोलसम्म, पश्चिममा रामपुर टोलसम्म, उत्तरमा सखुवनी टोलसम्म र दक्षिणमा खोरिया टोलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको सूचनामा उल्लेख गरिएको छ ।

निषेधाज्ञा लगाइएका स्थानमा कुनै किसिमका भेला, हिँड्डुल तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ ।

गस्तीमा रहेको प्रहरी भ्यानमा ठोक्किएर आइतबार राति बयलबासका फेन्सी पसल सञ्चालक रामकुमार महतोको मृत्युपछि यो क्षेत्र तनावग्रस्त छ ।

आइतबार रातिको घटना प्रहरीले सोमबारमात्र जानकारी गराएको भन्दै स्थानीयले प्रदर्शन गर्दै  इलाका प्रहरी कार्यालय केशरगंजमा ढुंगामुढा  गरेका थिए भने प्रहरीको गाडीसमेत जलाएका थिए । बयलबासमा प्रदर्शन उग्र बन्न थालेपछि नियन्त्रणका लागि प्रहरीले दर्जनौं अश्रुग्यास र रबरको गोली चलाएको थियो । त्यसक्रममा दुबैपक्षका दर्जन बढी घाइते भएका छन् ।

आन्दोलनकारीले क्षतिपूर्ति, छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट