ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाउने, कप्तानमा सन्दीप नै रहने-Sutra News

ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाउने, कप्तानमा सन्दीप नै रहने

बिहिबार, १५ पौस २०७८

बिहिबार, १५ पौस २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् । बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहान सार्बजनिक गर्ने बताएका छन् ।



उनले आफ्नो ध्यान अभ्यास खेलमा केन्द्रित हुने पनि बताएका छन् । क्यानले नियुक्त गरेको कप्तान परिवर्तन नहुने पनि उनले साे क्रममा जानकारी दिए । यसअघि क्यानले  कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित कारबाही गरेको थियो । त्यसपछि सन्दीप लामिछानेलाई क्यानले कप्तानकाे जिम्मेवारी दिएकाे छ । ‘कप्तान परिवर्तन हुने छैन । किन कि याे सबै क्यानकाे अधिकार क्षेत्र हाे,’ पुबुदुले भने ।

तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न नेपाल आइपुगेका हुन् । क्यानको २५ मंसिरकाे बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको हाे।

यसअघि नेपालले सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षणमा खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट