हिमपात र कुहिरोका कारण कर्णालीमा सबै हवाई सेवा अवरुद्ध-Sutra News

हिमपात र कुहिरोका कारण कर्णालीमा सबै हवाई सेवा अवरुद्ध

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा हुस्सु कुहिरो लागेकाले हवाई सेवा अवरुद्ध भएको हो ।



कर्णालीका हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्ला सिमकोट विमानस्थलमा बाक्लो हिमपात परेको छ । सुर्खेत विमानस्थल र नेपालगञ्ज विमानस्थलमा हुस्सु र कुहिरोका कारणले भिजिविलिटी कम रहेकाले हवाई उडान सेवा अवरुद्ध भएको हो ।

डोल्पा र हुम्लामा यातायातको एक मात्र विकल्प हवाई सेवा बन्द भएपछि जरुरी कामका लागि बाहिर जाने डोल्पा र हुम्ला आउने अलपत्र परेका छन् । मुगुमा सडक सञ्जालले छोएको भए पनि नग्मा-गमगढी सडक क्षेत्रको घुच्चीलेकलगायतका क्षेत्रमा बाग्लो हिमपात भएका कारणले यातायात सेवा अवरुद्ध बनेको हो ।

हवाई उडान नहुँदा हुम्लाको सिमकोट, मुगुको ताल्चा, डोल्पाको जुफाल विमानस्थलबाट काठमाडौं, सुर्खेत, नेपालगन्जलगायत सहरमा जाने यात्रु विमानस्थलमै अलपत्र परेका छन् । भिजिबिलिटी कम भएकाले सुर्खेत विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने दुवै उडान बन्द भएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट