ओमिक्रोन संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै-Sutra News

ओमिक्रोन संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण नेपालको अन्य देशको तुलनामा कम रहेको विज्ञहरू बताउँछन् । पश्चिमा देशसहित छिमेकी भारतमा समेत यसको संक्रमण बढिरहेका बेला नेपालमा अहिलेसम्म ओमिक्रोनको संक्रमण निकै कम देखिएको जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले बताए ।



उनका अनुसार अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्दा संक्रमण निकै कम देखिएको छ ।

नेपालमा हालसम्म ओमिक्रोनको संक्रमण देखिएका तीन जनामध्ये दुई जना संक्रमणमुक्त भइसकेका र एक जनामा अझै संक्रमण देखिरहेको उनले बताए ।

ओमिक्रोन जोखिमयुक्त रहेको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् । डा. मरासिनी र डा. सुवेदीका अनुसार कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्ति पनि ओमिक्रोनको जोखिममा छन् ।

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन निकै संक्रामक रहेको जानकारी दिएका डा. सुवेदीले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना र अस्पतालमा उपचारका लागि पूर्वतयारी गरेर बस्नुपर्ने बताए ।

ओमिक्रोनको संक्रमण नियन्त्रणका लागि पीसीआर र एन्टिजेनको परीक्षणको दायरा बढाउनेदेखि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् मरासिनीले बताए ।

भारतसहितका देशमा ओमिक्रोनको संक्रमण बढिरहेकाले नेपालमा पनि यसको संक्रमण दर बढ्न सक्ने डा. सुवेदी बताउँछन् । संक्रमण हुनुअघि नै सुरक्षित हुनका लागि सभा समारोह, सामाजिक भिडभाड नगरी दूरी कायम गरेर आफ्नो काम गर्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट