‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते उस्तै-Sutra News

‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते उस्तै

आइतबार, १८ पौस २०७८

आइतबार, १८ पौस २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग गर्न आउनेहरूको क्रम रोकिएको छैन । विभिन्न आकर्षक निकायमा सरुवा माग्नेहरूको क्रम केही समययता बढिरहेको छ । जनस्तरमा केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन् । जहाँ घुस नदिई जनताका कुनै काम हँुदैन । ती कार्यालयमा जान कर्मचारी मरिहत्ते गर्ने गरेको मन्त्रालयका अधिकृतको अनुभव छ ।



मन्त्रालयका अधिकारीका अनुसार घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तह, कम्पनी रजिस्ट्रार कार्यालय भौैतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालय, केही जिल्ला प्रशासन कार्यालय छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मनग्ये रूपमा अतिरिक्त कमाइ हुने र कमिसन पनि राम्रै हात पर्ने भएकाले ती कार्यालयमा जान कर्मचारीको तँछाडमछाड हुने क्रममा कमी आएको छैन । त्यस्ता कर्मचारी नेतादेखि उच्च प्रशासकसम्ममा नै सेटिङ मिलाउनसमेत खप्पिस रहेको अधिकारीको दाबी छ । यस कार्यमा कर्मचारी र कर्मचारीका केही नेताहरू समेत संलग्न हुने गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार आसेपासे तथा केही उच्च पदस्थ प्रशासकको नाम भजाएर बिचौलिया बनेका सरुवाको सूची लिएर सिंहदरबार धाउने गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न समयमा गरेको अनौपचारिक अध्ययनले घुस्याहा र आकर्षक कार्यालयमा जाने र यसका लागि सेटिङ मिलाउने कर्मचारीको संख्या उल्लेख्य रहेको देखाएको छ ।

यातायात कार्यालय पनि निकै आकर्षक कार्यालयका रूपमा रहे पनि हाल ती कार्यालय प्रदेश मातहत रहेकाले यातायात कार्यालयमा सरुवा माग्नेहरूको भीड हिजो आज प्रदेशतर्फ सरेको छ ।

यसकारण मरिहत्ते गर्छन् कर्मचारी

आकर्षक र घुस्याहा मानिएका सरकारी कार्यालयमा मनग्यै रूपमा आर्थिक कमाइ हुने गरेको छ । कतिपय कर्मचारीले त दैनिक रूपमा नै १० देखि ३० हजारसम्म अतिरिक्त कमाइ गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रकै अध्ययनले देखाएको छ । त्यहाँ कार्यरत कर्मचारीको उठबस शक्तिकेन्द्रसँग समेत हुने गरेको छ । उनीहरूमा पैसाको प्रयोग गरी उच्च तहमा पहुँच राख्न सक्ने खुबी विकास हुने गरेको सतर्कता केन्द्रका अधिकारीको भनाइ छ । आजको राजधानी दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट