विपन्न बालबालिकालाई न्यानो कपडा वितरण-Sutra News

विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

आइतबार, १८ पौस २०७८

आइतबार, १८ पौस २०७८

रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । रसुवाका समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ सुनितामाया गुरुङको पहल तथा रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाको समन्वयमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ नेपाल, एटीएएल पिङ्गलास्थान फ्यामिलीले उत्तरगया गाउँपालिकासँगको सहकार्यमा विपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरेको हो ।



डाँडागाउँस्थित डाडागाउँ माविका ५० जना बालबालिकालाई न्यानो कपडा स्वरुप ज्याकेट वितरण गरिएको समाजसेवी तथा नेपाली कांग्रेस रसुवाकी नेतृ सुनितामाया गुरुङले जानकारी दिइन् । शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बालबालिकाहरुलाई ज्याकेट वितरण गरेका हुन् । उक्त ज्याकेटले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष लम्सालले बताए ।

चिसोको समयमा समेत पातलो कपडामा बिद्यालय आउने गरेका बालबालिका न्यानो कपडा स्वरुप ज्याकेट पाएसँगै खुसी भएका छन् । न्यानो कपडाअन्तर्गत बालबालिकालाई उपलब्ध गराएको ज्याकेटले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक ध्रुव पन्तले बताए ।

विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा उत्तरगया गाउँपालिका २ का वडाध्यक्ष खुवाबहादुर गुरुङले धन्यवाद दिदै यस्ता राहत स्वरुपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट