शव बोकेर पाल्पाको रिडी हिँडेको बस खस्यो- ७ जनाको निधन, १५ घाइते-Sutra News

शव बोकेर पाल्पाको रिडी हिँडेको बस खस्यो- ७ जनाको निधन, १५ घाइते

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

बुटवलबाट शव बोकेर पाल्पाको रिडीमा अत्येष्टिका लागि हिँडेको बस आइतबार बिहान साढे १० बजे पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।



तानसेन–तम्घास सडकखण्डको लघुवामा लु१ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष भट्टराईले बताए ।

अर्घाखाँची मलारानी स्थायी घर भई बुटवल बुद्धनगरमा बस्दै आएका व्यक्तिको शव दहासंस्कारका लागि रिडी लगिँदै थियो ।

दुर्घटनामा मलारानी गाउँपालिका–२ का २५ वर्षीय शंकर विक, २८ वर्षीय भोजेन्द्र विक, बुटवल उपमहानगरपालिका–११ रूपन्देहीका ३२ वर्षीय विजय थापा, बुटवल उपमहानगरपालिका–१७ बस्ने ३० वर्षीय र ४० वर्षीया खुमबहादुर रानाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले बताए । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

बसमा च्यापिएका तीन जना व्यक्तिको शव स्काभेटर प्रयोग गरेर निकालिएको थियो । दुर्घटनामा परी घाइते आठ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा र सात जनाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएकोे छ ।

चिप्लो सडकबाट बस करिब सय मिटर तल खसेर दुर्घटना भएकोे थियो । दुर्घटनापश्चात्, हार्थोक, अर्गली र जिल्लाको प्रहरी टोलीसहित स्थानीय बासिन्दाले उद्धार गरेका थिए । तानसेन–तम्घास सडकखण्डको लघुवा क्षेत्रमा साँगुरो, ओरालो र घुम्ती सडक भएकाले विगतमा पनि दुर्घटना हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट