पाँच मिनेटमै साढे ३३ अर्ब मूल्यको साओमी १२ सिरिज बिक्री-Sutra News

पाँच मिनेटमै साढे ३३ अर्ब मूल्यको साओमी १२ सिरिज बिक्री

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

साओमीले गत मंगलबार सार्वजनिक गरेको साओमी ट्वेल्भ सिरिजको फस्ट सेल सम्पन्न भएको छ । शुक्रबार चिनियाँ बजारमा भएको सो सेलमा पाँच मिनेटमै १.८ अर्ब चिनियाँ यूआन (साढे ३३ अर्ब रूपैयाँभन्दा बढी) बराबरको स्मार्टफोन बिक्री भएको कम्पनीले जनाएको छ ।



कम्पनीले यो सिरिजअन्तर्गत साओमी ट्वेल्भ, साओमी ट्वेल्भ प्रो र साओमी ट्वेल्भ एक्स सार्वजनिक गरेको छ । अनलाइन र अफलाइन दुवै च्यानल गरी पाँच मिनेटमा साे मूल्यको स्मार्टफोन बिक्री भएको हो ।

योसँगै साओमी ट्वेल्भ सिरिजले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि साओमी मि ११ सिरिजको फस्ट सेलमा पाँच मिनेटमा १.५ अर्ब यूआन मूल्यको स्मार्टफोन बिक्री भएको थियो ।

यो सिरिजमा दिइएका नयाँ फिचरका कारण खरिद गर्ने प्रयोगकर्ताको संख्या बढेको बताइएको छ ।

साओमी ट्वेल्भः 

साओमी ट्वेल्भ कम्प्याक्ट फ्ल्यागशिप पारखीहरूका लागि साओमी मि एट यताकै सबैभन्दा सानो स्क्रिनको साथमा आएको छ । सामसङले बनाएको ८.२८ इन्चको एमोलेड  प्यानल सपोर्ट सहितको फुल एचडी प्लस रेजोलुसन र १२० हर्जसम्मको रिफ्रेश रेट यसमा रहेको छ ।

डिस्प्लेभित्रै फिङ्गरप्रिन्ट स्क्यानर राखिएको यो फोनमा स्क्र्याच रोक्नका लागि कर्निङ गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन राखिएको छ । साओमी ट्वेल्भमा परिचित ५० मेगापिक्सेलको सोनी आईएमएक्स ७६६ सेन्सर राखिएको छ, जुन चाहिँ प्रमुख एन्ड्रोइड स्मार्टफोन निर्माता कम्पनीहरूले सन् २०२१ मा धेरै जसो फ्ल्यागशिप स्मार्टफोनहरूमा पाउन सकिन्छ ।

जुन चाहिँ २.० माइक्रोमिटर ठूलो पिक्सेलसँगै १/१.५६ इन्च आकारमा र  ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) युक्छ छ । यो फोनमा अर्को १३ मेगापिक्सेलको अल्ट्रावाइड र ५० एमएम समान पाँच मेगापिक्सेलको टेली-म्याक्रो क्यामेरा राखिएको छ ।

साओमीका इन्जिनियरहरूले आधारभूत मोडेल ट्वेल्भको मदरबोर्डमा पर्याप्त आकारको कुलिङ प्याड र अन्य मुख्य पाटपुर्जाहरू फिट गर्न सफल भएका छन् । सानो आकारको साओमी ट्वेल्भमा ६७ वाटको तार युक्त फास्ट चार्जिङ सहित ४५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

जसमा १० वाटको रिभर्स वायरलेस टपअप समेत छ । साओमी ट्वेल्भ सिरिज ‘ब्रान्ड न्यु’ एमआईयूआई १३ सहित बजारमा उपलब्ध हुनेछ । यो फोन कालो, निलो र गुलाबी रङ्गमा आएको छ । दुवै फोनका लागि विशेष प्रकारको ‘ग्रिन भेगन’ लेदर भर्सन छ ।

प्रारम्भिक तहको साओमी ट्वेल्भ ८ जीबी र्‍याम र १२८ जीकी स्टोरेजको साथमा आउँछ । जसको मूल्य चिनियाँ येन तीन हजार ६९९ अर्थात ५८० अमेरिकी डलर (करिब ६९ हजार ५०० रुपैयाँ) रहेको छ ।

मध्यम मूल्य रहेको आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको लागि तीन हजार ९९९ येन अर्थात ६२८ अमेरिकी डलर (करिब ७५ हजार २०० रुपैयाँ) पर्नेछ भने १२ जीबी र्‍याम र २५६ जीबीका लागि चार हजार ३९९ येन अर्थात ६९० अमेरिकी डलर (करिब ८२ हजार ६०० रुपैयाँ) खर्च गर्नुपर्नेछ ।

साओमी ट्वेल्भ सिरिज डिसेम्बर ३१ देखि चिनियाँ बजारमा उपलब्ध हुनेछन् । तर अन्तर्राष्ट्रिय बजारको मूल्य र उपलब्धताको विषयमा विस्तृत विवरण भने पछि मात्र आउनेछ ।

साओमी ट्वेल्भ प्रो

प्रो मोडेल ६.७३ इन्च प्यानलसँगै १४४० पिक्सेल रेजोलुसनको साथमा आएको छ । जसमा एलटीपीओ २.० ब्याकप्लेन राखिएको छ, जसले कामअनुसार एक देखि १२० हर्जसम्मको रिफ्रेश रेटलाई अनुमति दिन्छ ।

साओमी ट्वेल्भ प्रोमा समेत डिस्प्लेभित्रै फिङ्गरप्रिन्ट स्क्यानर र गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन राखिएको छ ।  साओमी ट्वेल्भका दुवै फोनमा १२-बिट कलर आउटपुट र १५०० निट्ससम्मको ब्राइटनेस रहेको छ ।

यसमा मेन शुटरको लागि सोनी आईएमएक्स ७०७ सेन्सर सहितको ५० मेगापिक्सेल क्यामेरा राखिएको छ ।  १/१.२८ इन्च आकार र पिक्सेल-बिनिङ सहित २.४४ माइक्रोमिटर पिक्सेल र ओआईएस पनि यसमा छ ।

फोनमा अर्को क्यामेराको रुपमा ४० मेगापिक्सेल पोट्रेट लेन्स र तेस्रो अल्ट्रावाइड मोड्युल राखिएको छ । फास्ट-फोकसका लागि साओमी स्वयम्‌ले साइबरफोकस प्रविधि विकास गरेको छ ।

जसले सब्जेक्ट (तस्वीर लिइने वस्तु)को अनुहार र अन्य ब्याकग्राउन्डमा रहेका चिजहरूमा लक राख्छ । साओमीले नयाँ नाइट मोड एल्गोरिदम समेत यसमा राखिएको बताएको छ ।

जसले न्वाइजको स्तर चेकजाँच गरी कम प्रकाश भएको भागमा थप उज्यालो पार्ने काम गर्दछ । साओमी १२ प्रोमा दुई सेलमा विभाजित ४६०० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

यसमा तारमार्फत १२० वाट र वायरलेस ५० वाटको फास्ट चार्जिङ सपोर्ट रहेको छ । साओमीले पावर व्यवस्थापनको लागि स्वयम्‌ले विकास गरेको ‘सर्ज पी वान’ चार्जिङ चिप समेत फोनमा थप गरेको छ ।

साओमी ट्वेल्भ प्रो ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजबाट सुरु हुन्छ, जसको मूल्य चार हजार ६९९ चाइनिज येन अर्थात ७३८ अमेरिकी डलर (करिब ८८ हजार ३०० रुपैयाँ) रहेको छ ।

त्यस्तै आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज मोडेको मूल्य चार हजार ९९९ चाइनिज येन अर्थात ७८५ अमेरिकी डलर (करिब ९४ हजार रुपैयाँ ) र सबैभन्दा माथिल्लो स्पेक रहेको मोडेल १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजका लागि पाँच हजार ३९९ चिनियाँ येन अर्थात ८४८ रुपैयाँ (करिब एक लाख एक हजार ५०० रुपैयाँ) पर्न आउँछ ।

साओमी ट्वेल्भ एक्स

साओमी १२ एक्स साओमी ट्वेल्भ सिरिजको तेस्रो सदस्य हो । जुन चाहिँ साओमी ट्वेल्भको आधारभूत भर्सनभन्दा थोरै कम क्षमताको स्मार्टफोन हो । यसमा पनि साओमी ट्वेल्भकै समान ६.२८ इन्चको एमोलेड डिस्प्ले राखिएको छ  जसको रिफ्रेश रेट १२० हर्ज रहेको छ ।

पछाडि भागमा तीन ओटा क्यामेराको सेटअप, ४५०० एमएएच क्षमताको ब्याट्री र ६७ वाट फास्ट चार्जिङ यसका अन्य फिचर हुन् । साओमी ट्वेल्भ एक्स सस्तो हुनुको मुख्य कारण यसमा फ्ल्यागशिप स्न्यापड्रागन एट जेन वान चिपको साटो स्न्यापड्रागन ८७० चिपसेट राखिएको छ ।

यसमा न त वायरलेस चार्जिङ रहेको छ न त रिभर्स वायरलेस चार्जिङ नै दिइएको छ । साओमी ट्वेल्भ एक्स पनि कालो, निलो र गुलाबी गरी तीन ओटा कलर भेरियन्टमा आएको छ ।

यसको मूल्य ८ जीबी र्‍याम तथा १२८ जीबीका लागि तीन हजार १९९ चिनियाँ येन अर्थात ५०२ अमेरिकी डलर (करिब ६० हजार रुपैयाँ) र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजका लागि तीन हजार ७९९ चिनियाँ येन अर्थात ५९६ अमेरिकी डलर (करिब ७१ हजार ४०० रुपैयाँ) मूल्य राखिएको छ । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट