अवकाश कोषको रकम ब्याजको लागि निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक-Sutra News

अवकाश कोषको रकम ब्याजको लागि निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गत रहेको पेन्सन तथा उपदान कोषमा एक अर्ब ७५ करोड रुपैयाँ ब्याज आम्दानीको लागि निक्षेपको रुपमा लगानी गर्न लागेको छ । बैंकले आगामी माघ ३ गतेदेखि अर्को वर्ष माघ ३, २०७९ सम्म कुल ३६६ दिनका लागि उक्त कोषको रकम ब्याजमा लगानी गर्न लागेको हो ।



इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले भोलि अर्थात् पुस २० गते, चार बजेभित्र आवश्यक प्रक्रिया पुर्याएर निक्षेपका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

‘क’ वर्गका वाणिज्य बैंकहरुलाई एक अर्ब ४० करोड रुपैयाँ छुट्याइएको छ भने ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र फाइनान्स कम्पनीहरूका लागि क्रमशः २६ करोड २५ लाख र ८ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ ।

यद्यपि, कुल एक अर्ब ७५ करोड मध्ये एक अर्ब ४० करोड हाल लगानीमा रही रहेको रकम र बाँकी ३५ करोड नयाँ लगानी रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निक्षेप लिन चाहने बैंकहरुले कम्तिमा सञ्चालनको दुई वर्ष पुरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने र संस्थाको निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने बैंकको सर्त राखेको छ ।

यस्तै, निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट