आमाबुबाको न्यानो माया, दाइ र दिदीबहिनीहरूको पुलपुल्याईं अनि समस्त आफन्तजनको आस्ताको केन्द्रमा रहेर हुर्किएँ । प्रारम्भिक शिक्षा गाउँकै विद्यालय र कक्षा आठ, नौ र दश अलि टाढाको विद्यालयबाट लिएँ । साइन्स पढ्ने, डाक्टर वा इन्जिनियर बन्ने ठुलो सपना भएपनि गरिबी तथा विविध कारणले नेपाल ल क्याम्पसमा पढ्नुपर्यो । तेतातिरको असम्भावीत यात्रा( मेरो लागि) को बर्णन गर्न चाहन्न म ।
आइ. एल. उतिर्ण गरेर वि. एल. मा भर्ना मात्र भएको थिएँ, गाउँमा हाइस्कुल चलाउनु पर्यो । दरबन्दी खाली छ,हिंड् अब जागिर खा, हाइस्कुल चला भन्ने आम समुदायको अनुरोध लत्याउन मैले सकिन । गएँ । नियुक्ति लिएँ । जागिर खाएँ ।
मैले सुनेको, मेरा गुरुहरुले भनेको एउटा वाक्य सम्झिएँ ” आज्ञाकारी बन्नु, ठुलाले भनेको मान्नु, सानालाई माया गर्नु ।” मैले पनि मेरा छात्रछात्राहरूलाई यसै भन्नुपर्छ भन्ने लाग्यो । सबैलाई यही वाक्य सिकाउन थालें । सबैलाई आज्ञाकारी बनाउन सक्दो प्रयत्न गरें । बनाएँ पनि । आफुभन्दा ठुलाले भनेको मान्नु, सानालाई माया गर्नु भन्ने पाठ सिकाएँ । करीब सात बर्षसम्ममा त्यस विद्यालयमा जम्माजम्मी सातसय बालबालिकालाई आज्ञाकारी नागरिक बनाएँछु ।
त्यसपछि अर्को विद्यालयमा सरुवा भएर गएँ । करीब १० बर्ष प्रधानाध्यापक भएर काम गरियो । दशबर्षको अन्तरालमा करीब एकहजार बालबालिकालाई आज्ञाकारी नागरिक बनाउन सफल भएँ । त्यसपछि मा. वि. मा स्थायीमा नाम निकालेर अर्कै विद्यालयमा नियुक्ति लिएँ । त्यहाँ पनि करीब पन्ध्रसय बालबालिकालाई आज्ञाकारी बनाएँ । त्यसपछि सरुवा भएर पुरानै विद्यालयमा प्रधानाध्यापक बनेर काम गरें । बल्ल स्रोतव्यक्ती बनेर काम गर्ने अवसर मिल्यो । शिक्षण पेशामा लागेको सत्रबर्ष भैसकेको थियो । अब भने बल्ल विध्यार्थी समाजबाट शिक्षक समाजमा प्रवेश गर्ने मौका मिल्यो । समस्त समाज अराजक भएको महसुस भयो । आन्दोलन, तोडफोड, हत्या, हिंसा, नाराजुलुस आदि । किन यसो हुदैछ ???? आफैभित्र प्रश्न उब्जियो ।
समस्त समाज अराजक छ । हत्या, हिंसा, क्रोध, लुटपाट , आगजनी , तोडफोड , नाराजुलुस , के के हो के के !! बालबालिकाको माध्यमबाट पुरै समाजलाई सत्मार्गमा हिंडाउछु भनेर कम्मर कसेर अघि बढेको इन्द्रे कहानेर चुक्यो ? उसैलाई थाहा भएन । जिल्ल पर्यो । गहिरिएर घोत्लन बाध्य भएँ म ।
सम्पूर्ण शिक्षकहरूलाई हेरें । एउटा न एउटा राजनीति पार्टीमा लागेका, नेताको लँगौटीको फेटा गुतेका, आफ्नो नेतालाई ठुलोमान्छे मानेका , उनीहरुका आज्ञाकारी बनेका । अझै आज्ञाकारीताको पाठ आफ्ना विध्यार्थीलाई सिकाइरहेका । मनन गरें । कारण खोतलें । धेरै दिन अनिंदो बसें । बल्ल थाहा भो म चुकेको बिन्दु ।
मैले आज्ञाकारी बनाएर नै यस्तो भएछ । समस्त समाज बिग्रेको रहेछ । आज्ञाकारीको सट्टामा बालबालिकालाई जिम्मेवार बन्न प्रेरित गरेको भए आज समाजको यो दुर्दशा हुने थिएन । हिजोको गलत सिकाइले आजको समाज आज्ञाकारीताको नाममा अराजक बन्यो । ठुलाले युद्धमा जाऊ भन्दा होमियो । रेलिङ तोड भन्दा तोड्यो, ठुलाकै आज्ञा मानेर आगजनी, हत्या, हिंसा, तोडफोड, काटमारमा जुट्यो, संलग्न भयो । समाज भयभीत बन्यो । भड्क्यो । म आफै असुरक्षित महसुस गरिरहेछु ।
ठुलाको आज्ञा मान्नु मात्र भनियो । त्यही सिकाइयो । कस्तालाई ठुला मान्ने भनेर सिकाइएन । उनिहरुले त गुण्डालाई ठुला मानेछन् । डनहरुलाई ठुला मानेछन् । भ्रष्टाचार गरेर धनी बनेकालाई ठुला मानेछन् । काला धनले उच्च जीवन जिएकाहरूलाई ठुला मानेछन् । नेतालाई ठुला मानेछन् ।
हो म यहीँनेर चुकेंछु । थाहा पाउदा एउटा समाज अराजक भैसकेको रहेछ । यो अराजकताको जरो उखेल्न अब अझै लामो समय कुर्नु पर्ने हुन्छ ।
सम्पूर्ण शिक्षक समाज निर्माता हुन् । म आफै गल्ती भएको भए कृपया माफ दिनुहोला । मेरो विचारमा हामीले हाम्रा बालबालिकालाई आज्ञाकारी बनाउनु भन्दा जिम्मेवार बनाउन प्रयत्न गरौं ।
जिम्मेवार नागरिक आफैमा आज्ञाकारी पनि हुन सक्छ । ऊ विश्लेषक हुन्छ । विश्लेषण गर्छ ।आफू, आफ्नो समाज, राष्ट्र र राष्ट्रिय सम्पत्ति अनि सम्पदाको जिम्मा लिन्छ । रक्षा गर्छ, सके निर्माण गर्छ, तर विनाश गर्दैन । कुनै छद्मभेषीको उक्साहटमा अराजक बन्दैन । राष्ट्रको सम्पत्ति आफ्नै ठानी रक्षा गर्छ । विश्लेषण गरेर सही छ भने मात्र ठुलाको अर्ती मानेर काम गर्छ । नत्र अकर्मन्यतामा र कुकर्ममा पाइला समेत चाल्दैन ।
हो म यहीँ चुकेको थिएँ । मजस्ता धेरै चुकेका थियौं र आज आफ्नै आँखाले समाजको दुर्गति हेर्नुपरेको छ । आत्माग्लानी हुन्छ । अहिले कार्यरत कुनैपनि शिक्षकले यस्तो व्यहोर्नु नपरोस् । आफु जिम्मेवार शिक्षक बनौं । हरेक विद्यार्थीलाई जिम्मेवार बनाऔं । जिम्मेवार नागरिक बनाउनमा तपाईं हाम्रै अहम् भूमिका छ । भोलिको समाज आजको शिक्षकको मुखारबिन्दबाट निस्कने प्रत्येक वाक्य र वाक्यांशले निर्माण हुन्छ ।
दोहोर्याएर भन्छु, “ससारका शिक्षक महान हुन् ।”
प्रतिक्रिया दिनुहोस्