राष्ट्रिय सभा निर्वाचनः गठबन्धनबीच ‘जित्नेगरी’ सिट भागबन्डा-Sutra News

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनबीच ‘जित्नेगरी’ सिट भागबन्डा

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

सत्ता गठबन्धन आबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ ।



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीचको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमति गर्दै सिट संख्यामासमेत भागबन्डा गरेका हुन् । राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ६ सिट, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट बाँडफाँट भएको हो । रिक्त हुनेमा नेकपा एमालेको आठ सिट छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सकिँदै छ ।

जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सत्ता गठबन्धन आबद्ध दलहरूबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राख्दै अघि बढ्ने सहमति भएको र सिटमासमेत भागबन्डा भएको जानकारी दिइन् ।

यसअघि जुन–जुन दलबाट जुन जुन समूहमा सदस्य निर्वाचित थिए ती सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने र एमालेले जितेका सिटमा भागबन्डा गर्ने सहमति भएको पौडेलले जानकारी दिएकी हुन् ।

सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउनेगरी सहमति भएको हो ।

राष्ट्रिय सभामा एक मनोनीतसहित चारवर्षे कार्यकाल पूरा गरेका २० जनाको पद २० फागुनबाट रिक्त हुँदै छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगमा १२ दल दर्ता भइसकेका छन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, लोसपा, नेमकिपा र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल दर्ता भएका हुन् ।

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

पहिलोपटक २०७४ सालमा निर्वाचित सदस्यहरूको कार्यकाल गोलाप्रथाद्वारा निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानमा राष्ट्रिय सभाको कुल कार्यकाल ६ वर्ष हुने उल्लेख छ । जसअनुसार अब निर्वाचित हुनेहरू दुई वर्षसम्म पदमा रहनेछन् ।

नेपाली कांग्रेस
प्रदेश १ ः गोपाल बस्नेत
बाग्मती ः कृष्णप्रसाद पौडेल
गण्डकी ः कमला पन्त
लुम्बिनी ः युवराज शमा
कर्णाली ः दुर्गा गुरुङ
सुदूरपश्चिम ः नारायणदत्त मिश्र

एकीकृत समाजवादी
प्रदेश १ ः जयन्ती राई
बाग्मती ः गोमा तिमिल्सना
लुम्बिनी ः राजेन्द्रलक्ष्मी गैरे
कर्णाली ः उदय बोहरा
सुदूरपश्चिम ः मदनकुमार शाह (गरिमा)

एमाले
प्रदेश–१
खुला ः देवराज घिमिरे (झापा)
महिला ः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यक ः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

प्रदेश–२
खुला ः असर्फी भिनवार यादव (धनुषा)
महिला ः बिना साह (रौतहट)

बाग्मती
खुला ः गोपाल शाक्य (ललितपुर)
महिला ः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी
खुला ः पुण्यप्रसाद पौडेल (कास्की)
महिला ः लीला पोखरेल थनेत (नवलपुर)
दलित ः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

लुम्बिनी
खुला ः रामदयाल गुप्ता (दाङ)
महिला ः भारती खनाल (बाँके)
दलित ः कृष्णबहादुर सुनार (गुल्मी)

कर्णाली
खुला ः चूडामणि शर्मा (सुर्खेत)
महिला ः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यक ः पदमबहादुर माझी (दैलेख)

सुदूरपश्चिम
खुला ः डिल्लीराज भट्ट (डोटी)
महिला ः सन्तोषकुमारी शर्मा (कैलाली)
दलित ः नरेश विक (बैतडी)
यी नाममध्ये बस्नेत र पौडेल २०७४ सालमा राष्ट्रिय सभा सदस्य मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गरेका नाम हुन् । त्यसबखत उनीहरू मनोनीत भएका थिएनन् । यस्तै पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् भने पन्त कांग्रेसको १४औं महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट महिला सहमहामन्त्रीको उम्मेदवार बनेर पराजित भएकी थिइन् । लुम्बिनीबाट छानिएका शर्मा बाँकेका पुराना नेता हुन् भने गुरुङ शहीद पत्नी हुन् । मिश्र कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए ।

कुनकुन दलले भाग लिँदै छन् ?
१२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा १२ दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको १० पुसको समय सीमाभित्र १२ दलले निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल परिवार दल सातै प्रदेशमा निर्वाचनमा सहभागी हुँदै छन् ।

यसैगरी, लोसपाले प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेमकिपाले बाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र सहभागी हुनेगरी दल दर्ता गराएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नौ दलले सबै प्रदेशमा र तीन दलले कुनै निश्चित प्रदेश विशेषमा मात्र सहभागी हुने गरेर दल दर्ता गराएको जानकारी दिए । राजधानी दैनिकमा खबर छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट