‘प्रेम गीत ३’को प्रदर्शन मिति अनिश्चित-Sutra News

‘प्रेम गीत ३’को प्रदर्शन मिति अनिश्चित

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन मिति फेरी सरेको छ । कोरोना महामारी फेरि बढ्न थालेको कारण देखाउँदै फिल्म निर्माण पक्ष प्रदर्शनलाई पूर्वनिर्धारित मितिबाट फेरी पछि हटेको हो ।



‘प्रेम गीत ३’ यसअघि आगामी फागुन १३ गते प्रदर्शन हुने बताइएको थियो । तर, फेरि नेपाल, भारतसँगै विश्वभर कोरोना महामारी बढ्न थालेको कारण देखाउँदै निर्माण पक्षले फिल्मलाई पछि सारेको छ।

फिल्मका निर्देशक सन्तोष सेनका अनुसार फिल्म प्रदर्शन मिति अनिश्चितकालका लागि सरेको हो । महामारी नियन्त्रण भएपछि फिल्मलाई प्रदर्शन गर्ने उनले बताए ।

‘सम्पूर्ण चलचित्रप्रेमी महानुभावहरु, दर्शक, पत्रकार साथीहरु, वितरक, चलचित्र संघप्रति यो खबर सम्प्रेषण गर्दा दुःख महसुस गरेका छौं,’ सेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले ‘प्रेम गीत ३’को पोस्ट प्रोडक्सनको काम नेपाललगायत मुम्बईका दिग्गज टिमहरुबाट सम्पन्न गरेका छौं । यसको प्रदर्शन मिति फाल्गुन १३ गते लक्षित गरेर विभिन्न प्रचारप्रसार सामग्री तयार भएसँगै दर्शकमाझ पस्कने तयारीमा थियौं । यसक्रममा भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन् गर्दै सिनेमाघरहरु बन्द हुने क्रम बढेको हुनाले नेपाल, भारत अथवा विश्वभरि अलग अलग मितिमा प्रदर्शन नगरि एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले हामीले नआत्तिएर यो अफ्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै र यो प्रस्ताव स्वीकार्दै अनिश्चितकालका लागि प्रदर्शन मिति स्थगित गरेका छौं।’

‘असुसेन फिल्म्स’को ब्यानरमा बनेको ‘प्रेम गीत ३’लाई सन्तोष सेनसँगै छेतन गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा सेनले नै लगानी गरेका छन् । फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट