किसानको समस्या सम्बोधन नगरे आमरण अनसन बस्ने माओवादी सांसद मोदीको चेतावनी-Sutra News

किसानको समस्या सम्बोधन नगरे आमरण अनसन बस्ने माओवादी सांसद मोदीको चेतावनी

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखु किसानको समस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।



लेखा समितिको बैठकमा मंगलबार आफ्नो धारणा राख्दै सांसद मोदीले किसान मरिरहँदा राज्यले नसुनेको भन्दै आक्रोश पोखे । नेतालाई दिने उपचार खर्च वा अन्य फजुल खर्च कटाएर किसानलाई दिनुपर्ने उनको प्रस्ताव छ ।

‘किसानले भुक्तानी नपाउँदा राज्यले किन दिन सक्दैन । ८/१० करोड त दिन सकिन्छ । कुनै न कुनै मोडलबाट दिउँ । पछि उद्योगबाट असुल्ने गरी । नेतालाई उपचार खर्चलगायत फजुल खर्च कटौती गरि राम्रो काम गरिरहेका किसानलाई दिउँ । किसानसँगै मजदुरको कुरा पनि छ । तिनलाई पनि हेरौं,’ सांसद मोदीले भने ।

अहिले आफूहरू बोल्ने थलो संसद अवरुद्ध रहेको र राज्यले किसानको समस्या नसुन्ने हो आफू माइतीघर मण्डलमा गएर अनसन बस्न बाध्य हुने उनले चेतावनी दिए ।

‘संसद अवरुद्ध छ, राज्यले पनि सुनेन भने माइतीघर मण्डलामा आमरण अनसन बस्छौं । म नै गएर अनसन बस्छु । किसानसँगै हामी अनसन बसेर राज्यलाई घुँडा टेकाउँछौं । त्यसकारण सम्बन्धित निकायले समयमै ध्यान देओस् । बच्चाको लालनपालन र उपचार पढाइ खर्च उखुबाटै निकाल्ने किसान र मजदुरप्रति न्याय गरौं,’ उनले भने ।

उखु किसानको आन्दोलनका क्रममा किसान कृष्णराय यादवको मृत्यु भएको, समितिबाट पनि पटक-पटक कुरा उठाउँदा पनि समस्या समाधान नभएकोमा उनले दुस्ख व्यक्त गरे । ‘मन्त्री र प्रधानमन्त्री, सचिव फेरिएपछि विषय नयाँ बन्छ । किसानको समस्या भने उही रहन्छ । उखु किसानले भुक्तानी मात्र होइन किसानले मल, बजार र मूल्य पाउँदैन । उत्पादनबाट पलायन हुने अवस्था छ । यसमा हामीले इनिसियसन लिनुपर्नेछ । काठमाडौंमा केही उत्पादन हुन्न । पिसाब फेर्न पनि पैसा तिर्नपर्छ । किसानले उत्पादन नगरे हामीले के खाने ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट