जबरा–पत्नी रेजीका नाममा ‘१ अर्बभन्दा बढी सम्पत्ति’-Sutra News

जबरा–पत्नी रेजीका नाममा ‘१ अर्बभन्दा बढी सम्पत्ति’

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अवैध स्रोतबाट आर्जन एक अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्दै डा. गोविन्द केसीले सम्पत्ति शुद्धीकरण विभागमा पूरक निवेदन दिएका छन् ।



बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. केसीले गत पुस ११ मा पनि विभागमा प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको दाबी गर्दै छानबिन र कारबाहीको मागसहित उजुरी दिएका थिए ।

डा. केसीको पूरक निवेदनमा राणाका नाममा २०६५ असोज ४ मा काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराहीमा तीन कित्ता जग्गा खरिद गरेको भेटिएको उल्लेख छ । कित्ता नं. ३४२, ४७१ र ४८४ का ती जग्गा अवैध स्रोतको आम्दानीबाट खरिद गरेको दाबी गरिएको छ । विभागले मंगलबार दर्ता गरेको पूरक निवेदनमा २०६५ मंसिर ४ मा काठमाडौं महानगरपालिका–३० स्थित ठमेलमा पनि १०९, ११० र १११ कित्ता नम्बरका जग्गा खरिद गरेको भेटिएको दाबी छ । यी तीन कित्ताको क्षेत्रफल २० आना छ ।

त्यस्तैगरी गत वर्ष असार १७ मा काठमाडौं महानगरपालिका–५ स्थित भाटभटेनीमा कित्ता नम्बर ७ को एक रोपनी ८ आना जग्गा खरिद गरेको डा. केसीले निवेदनमा उल्लेख गरेका छन् । राणाका नाममा भएका जग्गा र तिनलाई खरिद गर्ने पैसाको स्रोत छानबिन गर्न, तत्काल जग्गा रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न र अवैध सम्पत्ति जफत गरी हदैसम्म सजाय गर्न डा. केसीले निवेदनमा माग गरेका छन् ।

विभागले प्रधानन्यायाधीश जबराका नाममा रहेको सम्पत्ति छानबिन गर्ने अधिकार नभए पनि उनका आफन्तका नामको सम्पत्तिमाथि छानबिन सुरु भइसकेको जनाएको छ । गत पुस ११ मा निवेदन परेपछि विभागले उपसचिव मोहन ढकाल र शाखा अधिकृत कृष्ण मैनालीलाई अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको हो ।

विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले उक्त विषयमा प्रारम्भिक सूचना संकलन भइरहेको जानकारी दिए । विभागमा दर्ता भएको ध्यानाकर्षण पत्रसहितको उजुरीमा प्रधानन्यायाधीश जबराका भाइ, श्रीमती र परिवारका अन्य सदस्य एवं नातेदार, बिचौलियाको समेत काम गर्ने उनीनिकटका न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीलगायत मिलेर संगठित गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी गर्दै छानबिन गर्न माग गरिएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार रहेको छ

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट