ललिता निवास प्रकरण: अभियुक्त ढकालविरुद्ध राजस्व छली मुद्दा-Sutra News

ललिता निवास प्रकरण: अभियुक्त ढकालविरुद्ध राजस्व छली मुद्दा

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

ललिता निवास सरकारी जग्गा हिनामिना गरेको अभियोगमा थुनामा रहेका शोभाकान्त ढकालविरुद्ध करिब सबा अर्ब रूपैयाँ राजस्व छलेको दाबीसहित मुद्दा दायर भएको छ।



आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध बिगोको जरिवाना दोब्बर गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रूपैयाँ सहित सजायको माग दाबी गरिएको छ। राजस्व अनुसन्धान विभागले ढकालविरुद्ध उच्च अदालत पाटनमा हदैसम्मको सजाय माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको हो।

अनुसन्धान विभागले कुल बिगो १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रूपैयाँ असुलीको माग दाबी गरेको छ। ढकाललगायतलाई हदैसम्म अर्थात् कानुनअनुसार ३ वर्ष कैद सजाय र राजस्व चुहावटमा सहयोग गरेकाले लेखापरीक्षक श्रेष्ठलाई आधा सजायको माग दाबी गरी अभियोगपत्र दर्ता गरिएको हो।

ढकालले आनसान इन्टरनेसनल प्रालि खोलेर त्यसैमार्फत राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण बनाएर कारोबार नै नभएको देखाएर राजस्व छलेको भेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ। कारोबार नभएको देखाउने लेखापरीक्षक र फर्मलाई पनि मुद्दा चलाइएको छ। काठमाडौं, नागार्जुन नगरपालिका घर भएका ढकालले ललितपुर ठेगानामा कम्पनी दर्ता गरेर राजस्व छली गरेका हुन्। ढकालको कम्पनीको लेखापरीक्षण गर्ने राजेश्वर एन्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध पनि मुद्दा दर्ता गरिएको हो।

‘कम्पनीमार्फत आय विवरण तयार गरी कारोबारै नभएको देखाएर आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको’ राजस्व अनुसन्धान विभागको ठहर छ।

राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा (घ) ले निषेधित सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा २ (५१) हुन आउने कायम भएको बिगो र सजायको माग दाबी विभागले गरेको छ। मूल्य अभिवृद्धि करतर्फ ४२ करोड २६ लाख रूपैयाँ, आयकरतर्फ ६८ करोड ४८ लाख, लाभांश ९ करोड ७४ लाख गरी कुल बिगो १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रूपैयाँ असुल गर्न मागदाबीसहित मुद्दा दर्ता गरिएको हो।

शोभाकान्त ढकाल पहिलेदेखि नै थुनामा छन्। विशेष अदालतले ललिता निवास भ्रष्टाचार मुद्दामा उनीसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रूपैयाँ बिगो माग गरी २०७६ माघ २२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेको थियो। ढकाललाई ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने काममा दलाली गरी भ्रष्टाचारको अभियोग लागेको छ। अख्तियारले दुई वर्षअघि ढकालसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

विशेष अदालतले जग्गा खरिदबिक्रीकर्ता ढकालसहित अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा पठाएको थियो। सर्वोच्चले धरौटीमा छोड्न आदेश गरेपछि पौडेल र बस्न्यात थुनामुक्त भइसकेका छन्। जग्गाका मुख्य ठेकेदार मानिएका ढकालका विषयमा दुईजना न्यायाधीशबीच थुनामा राख्ने वा छोड्ने भन्ने राय बाझिएपछि उनी थुनामै छन्। आजको नागरिक दैनिकमा खबर रहेको छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट