कांग्रेस महोत्तरी जिल्ला अधिवेशन रोक्न माग गर्दै आमरण अनसन-Sutra News

कांग्रेस महोत्तरी जिल्ला अधिवेशन रोक्न माग गर्दै आमरण अनसन

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव बजरङ्ग नेपाली आमरण अनसनमा बसेका छन् । क्षेत्रको अधिवेशन सम्पन्न नभई २७ पुसमा जिल्ला अधिवेशन निर्धारण गरेको भन्दै उनी आज बिहान ८ बजेदेखि अनसनमा बसेका हुन् ।



क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेता नेपालीको अनसनलाई ऐक्यबद्धता जनाएको छ ।

मंगलवार जिल्ला कार्यसमितिले केन्द्रलाई नेता नेपालीको भोक हडतालप्रति ध्यानाकर्षणसहितको पत्र समेत पठाइसकेको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।

विवादकै कारण अझै महोत्तरीको क्षेत्र नम्बर ३ मा अधिवेशन हुन सकेको छैन । संस्थापन र संस्थापन इतरका बीच विवाद हुँदा क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित भएको थियो ।

निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु आपत्तिजनक रहेको पूर्वमहासचिव नेपालीको भनाइ छ ।

मंगलबार नै नेता नेपालीले जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाउँदै विवादित ठाउँहरुको विवाद नटुङ्ग्याएसम्म भोक हड्ताल गर्ने चेतावनी दिएका थिए ।

नेता नेपालीको हड्ताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछिमात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट