चलचित्र ‘पर्पला’ फर्स्ट लुक पोस्टर सार्वजनिक, दोस्रो चरणको छायाँकन सकेर बजारमा आउने तयारी-Sutra News

चलचित्र ‘पर्पला’ फर्स्ट लुक पोस्टर सार्वजनिक, दोस्रो चरणको छायाँकन सकेर बजारमा आउने तयारी

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । कोभिड १९ को महामारीले विश्व ग्रस्त भएको भयता पनि नेपाली सिनेमा निर्माणलाई पनि निरन्तरता दिनुपर्छ भन्ने उदेश्य राखेर नेपालीहरुको बाक्लो बसोबास रहेको अष्ट्रेलिया त्यसमा पनि सिड्नीमा नेपाली थ्रिलर हरर सिनेमा ‘पर्पला’ को निर्माण गरिएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका बिभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर यस सिनेमाको लेखन तथा निर्माण गरेको कुरा लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए ।



हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा रहेको र दोस्रो चरणको छायाँकन छिट्टै गरेर सिनेमालाई बजारमा ल्याउने निर्माण पक्षले बताएको छ ।

निर्माता तथा कलाकार भानु प्रतापले अस्ट्र्लिया बसाइको क्रममा त्यहाँको टिमसँग मिलेर चलचित्र ‘पर्पला’को निर्माण गरेका हुन् । उनले निर्माण गरेको पछील्लो चलचित्र ‘लाल्टिन’ पछी अस्ट्रेलियामा बसोबास गर्दै आएका उनले यो बिचमा म्युजिक भिडियो, शर्ट मुभी निर्माण साथै नेपाली चलचित्रहरुको अस्ट्रेलियामा प्रदर्शन गर्दै आएका छन् ।

निर्देशक अधिकारीले अष्ट्रेलियामा बनेको पहिलो नेपाली चलचित्र ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए । यस लगायत अष्ट्रेलिया र नेपालमा बनेका थुप्रै फिल्ममा निर्माताका रुपमा पनि अनुभब बटुलेका उनले अष्ट्रेलियन (हलिउड) सिनेमा ‘गर्ल एडिक्टेड’ भन्ने अङ्रेजी सिनेमाको पनि निर्देशन गरी सकेका छन् । ‘पर्पला’ सिनेमाको कथा लेख्नको लागि नर्सिङ पेशामा रहेकी आफ्नी श्रीमती र अरु साथीभाईहरुले सुनाएका घटनाहरुले प्रेरणा दिएको उनि बताउछन् ।

पर्पला फिल्मका मुख्य अभिनेता पुकार गौतम रहेका छन् । उनी नेपालमा झरना थापासँग ‘झिल्के’ नामक सिनेमा खेलेका थिए भने अष्ट्रेलिया गएपछी ‘ह्याप्पी न्यु इयर’ मा नायक भएर अभिनय गरीसकेका छन । पुकारले ‘पर्पला’ लाई सिनेमा क्षेत्रमा अगाडि बढाउदै स्थापित गराउन मद्दत गर्ने सिनेमाको रुपमा लिएका छन् ।

बिगत पाँच बर्ष देखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेशाले नर्स हुन् । उनि अस्ट्रेलियामा राम्रो बेली डान्सरको रुपमा परिचित छिन् । उनले थुप्रै इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै आधा दर्जन म्युजिक भिडियोमा समेत काम गरि सकेकी छन् । अभिनयमा समेत अब्बल निखिला ‘पर्पला’ फिल्मकी मुख्य नायिका हुन ।

बिगत १२ बर्ष देखि अस्ट्रेलियामा महिला ब्यबसायिको रुपमा स्थापित रोजी पन्तले पनि यसै चलचित्र मार्फत सह नायिकाको रुपमा डेब्यु गर्दै छिन । यसअघि उनले बिभिन्न म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो कला देखाई सकेकी छन् । त्यसैगरी नेपालमा रहंदा केहि टेली सिरियल र नेपाली सिनेमामा अभिनय गरेकी प्रेक्ष्या अधिकारीले पनि ‘पर्पला’ फिल्ममा सह नायिकाको रुपमा अभिनय गरेकी छन ।

अष्ट्रेलियन कलाकार ओल्गा तमरा अष्ट्रेलियन फिल्म क्षेत्रमा चिनिएको नाम हो, पर्पला फिल्मको कथा र स्क्रिप्ट मन पराएर यस नेपाली सिनेमा खेल्न राजी भएकी हुन् । उनको फिल्ममा बिशेष भूमिका रहेको छ। यी लगायत १ दर्जन भन्दा बढी अष्ट्रेलियन कलाकारले पनि यस सिनेमामा अभिनय गरेका छन ।

आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन् । अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् । रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन् । सरस्वती गौतम, शृजना ल्वागुन, भिम राज रसाइली, वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट