सरकारले एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।
मन्त्रिपरिषदले बैठकले गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।
त्यस्तै प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, निजगढको कोहल्वी तेत्तिस केभी सबस्टेशन निर्माणका लागि २ विघा जग्गा नेपाल विद्युत प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
सरकारले नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमवार र बिहीबार प्रकाशन गर्न स्वीकृत दिने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । त्यस्तै सरकारले सहसचिव कृष्णबहादुर राउतलाई सचिवमा बढुवा पनि गरेको छ ।