ओमिक्रोन र लकडाउनको त्रासमा नेपाली चलचित्र उद्योग, धमाधम स्थगित हुँदै प्रदर्शन-Sutra News

ओमिक्रोन र लकडाउनको त्रासमा नेपाली चलचित्र उद्योग, धमाधम स्थगित हुँदै प्रदर्शन

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

नेपाली चलचित्र ‘प्रेम गीत ३’को हिन्दी संस्करणको मिक्सिङको काम झन्डै दुई साताअघि सकियो। लगत्तै नेपाली संस्करणको काम सुरु भयो। चलचित्र सम्पादनलगायत प्राविधिक काम मुम्बईमा भइरहेको छ।



नेपाली प्रचार सामग्री तयार हुनासाथ नेपाल आउने, ट्रेलर सार्वजनिक गर्ने र प्रदर्शनको तयारी थाल्ने योजना बनाएका थिए निर्माता एवं निर्देशक सन्तोष सेनले।

उक्त चलचित्र नेपालमा फागुन १३ गते देखि प्रदर्शनमा आउने भनिएको थियो।

तर गत साता भारतमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै प्रतिबन्धात्मक कदमहरू चालिए। दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा भयो र सिनेमाघरहरू बन्द हुन थाले।

त्यहाँको प्रभाव नेपाली चलचित्र क्षेत्रमा पर्ने सम्भावनाबारे छलफल र विश्लेषणपछि सेन फेरि एक पटक प्रदर्शन स्थगन गर्ने निर्णयमा पुगे।

दर्शक, वितरक र चलचित्र सङ्घलगायतलाई सम्बोधन गर्दै विज्ञप्ति जारी गरे: विश्वव्यापी रूपमा सिनेमा घरहरू बन्द हुने क्रम बढेको छ। भारतको बजार वितरक पीभीआरले दिएको सुझावलाई मनन गर्दै हालका लागि नेपाल प्रदर्शन स्थगित गर्दैछौँ। साथै नेपाल, भारत र अन्य देशहरूमा अलगअलग मितिमा नभई एकसाथ प्रदर्शन गर्ने प्रस्तावलाई समेत स्वीकार गरेका छौँ।

“लक्षित समयमा फिल्म सार्वजनिक गर्न नसक्ने जानकारी दिँदा साह्रै खिन्न लाग्यो। अब त आर्थिकसँगै मानसिक भार पनि बढ्दो छ। कहिलेसम्म फिल्म प्रदर्शन स्थगनबारे सूचना गोजीमा राखेर बस्नू?” उनले चिन्ता व्यक्त गरे।

चार वर्षअघि निर्माण सुरु गरिएको यस चलचित्रको लागत झन्डै पाँच करोड रुपैयाँभन्दा बढी भइसकेको उनको दाबी छ। प्रदर्शन मिति जति पर सर्‍यो लागत पनि थपिँदै जाने उनले सुनाए।

उसो त छायाँङ्कन नसकिँदै उक्त चलचित्रको निर्देशक रहेका छेतेन गुरुङको निधन भयो। त्यो जिम्मेवारीसमेत आफ्नै काँधमा उठाएर जोखिम मोलिसकेका थिए सन्तोषले। त्यसपछि महामारी सुरु भयो। उनी सिनेमाघर कहिले खुल्छ भनेर पर्खिनुको साटो भारतमा वितरक र बजार खोज्दै हिँडेको बताउँछन्।

उनी चलचित्रको ‘शो रील’ बोकेर आफूसँग सहकार्य गर्ने आग्रहसहित भारतीय कम्पनीहरूसमक्ष गएका थिए। चलचित्रको भारतीय संस्करणको प्रतिलिपि अधिकार चार करोड रुपैयाँ भारतीय रुपैयाँमा खरिद गर्‍यो इम्पोसिबल फिल्म्सले।

व्यावसायक हिसाबमा सफल ठहरिएको चलचित्र प्रेम गीतको तेस्रो संस्करण नेपाली र हिन्दीसँगै तमिल र तेलुगु भाषामा समेत बन्न लागेको हो। फिल्मको प्राविधिक पाटो बलवुडमा नाम चलेका व्यक्तिहरूले सम्हालेको सेनको दाबी छ।

ध्वनिको काम सन् २०१६ मा न्याशनल फिल्म अवार्ड समेत जितेका जस्टिन जोसले गर्दैछन्। ‘कुछकुछ होता है’, ‘कल हो ना हो’ लगायत सफल चलचित्रहरू सम्पादन गरेका सञ्जय सन्कलाले सम्पादन गर्दैछन्। पार्श्वसङ्गीत सूर्यवंशीमा सङ्गीत दिएका अमर मोहीलेको रहने बताइएको छ।

“मलाई आफ्नो उत्पादनमा विश्वास छ। तर भारतीय बजारका लागि मेरो काम र कलाकार सबै नयाँ हुन्। त्यसैले त्यहाँ स्थापित प्राविधिकहरूलाई संलग्न गराएर नयाँ बजार छिर्दाको जोखिम कम हुन्छ कि भन्ने आशा छ।” बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट