सहमतिकाे ढाेका लगभग बन्द-Sutra News

सहमतिकाे ढाेका लगभग बन्द

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

जिल्ला अधिवेशनकाे चार दिनसम्म नेकपा (एमाले) सुनसरीले नयाँ नेतृत्व चयन गर्न सकेकाे छैन ।



केन्द्रले सहमतिबाटै नयाँ नेतृत्व छान्न निर्देशन दिए पनि  तीन जना आकांक्षी टसमस नहुँदा सर्वसहमतिको बाटो लगभग बन्द भएको छ । सहमतिकाे प्रयास सफल हुन नसकेपछि जिल्ला अध्यक्षका लागि खेमराज पोखरेल, द्वारिकलाल चौधरी र रेवतीरमण भण्डारीले आइतबार निर्वाचन समितिमा मनोनयनसमेत दर्ता गरेका छन् ।

सुनसरीसहित देशका ६१ जिल्लामा २४ पुसमा अधिवेशन सुरु भए पनि धेेरै जिल्लामा सहमतिकै आधारमा नयाँ कमिटी चयन भसक्दा यहाँ बल्ल चुनावकाे तयारी हुँदैछ ।

यद्यपि, सर्वसहमतिका लागि आज साेमबार एक दिनको समय दिइएको छ । सहमति नभए मंगलबार पदाधिकारीसहितको चुनाव हुनेछ । अध्यक्षसहित १ सय ३५ पदका लागि ३ सय ६० जनाले मनोनयन दर्ता गराएका छन् ।

कसलाई कसकाे साथ ?

भीम आचार्यसहित १० बुँदे कार्यान्वयनको आवाज उठाउने नेताहरूको समर्थन पोखरेललाई छ । भण्डारीलाई एमाले अध्यक्ष केपी ओली पक्षको साथ छ भने चाैधरीले पार्टी भित्रको लाइनभन्दा फरक ढंगबाट उम्मेदवारी दिएका छन् ।

कसले मार्ला बाजी ?
तीनै जना पार्टीको संस्थापन पक्षका हुन् । भण्डारी यसअघि संविधानसभा सदस्य तथा पार्टीको जिल्ला अध्यक्ष भएर काम गरी सकेका नेता हुन् ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा फुट हुँदा भण्डारीले ओली पक्षबाट एमाले सुनसरीको नेतृत्व गरेका थिए ।

करिब ९ महिना पार्टी चलाउँदा उनले जिल्लामा ओली पक्षलाई मजबुत बनाएका थिए  । १० बुँदे कार्यान्वयनको वकालत गर्दै आएका भीम आचार्य पक्षले भण्डारीलाई अध्यक्ष मान्न नसकिने दबाब बढाउौै गएपछि उनी अध्यक्षबाट हटेका थिए । जिल्लामा उनको राम्रो पकड देखिएको छ ।

उनी संगठन निर्माणमा जिल्लाको दक्षिणी भूगोल देवागञ्ज, हरिनगरा, भोक्राहा, कोशी गाउँपालिकाबाट राम्रो साथ पाएका छन् ।  वराहक्षेत्रमा पनि उनको राम्रो जनमत  छ । उपाध्यक्षका उमेदवार निलम खनाल पनि उनकै पक्ष भएकाले वराहक्षेत्रमा भण्डारीको मत रहेको एक नेताले बताए ।

सबै भन्दा धेरै प्रतिनिधि भएको इटहरीमा पनि उनको राम्रो जनमत देखिएको ती नेताले बताए । तर, धरानमा भने अन्य क्षेत्रको तुलनामा कमजोर देखिएका छन् । तत्कालीन नेकपा विभाजित हुँदा माधव नेपाल पक्ष बलियो रहेको धरानमा पार्टी नगर अधिवेशन हुँदा पनि ओली पक्ष र १० बुँदे वकालत गर्ने नेताहरूले छुट्टाछुट्टै अधिवेशन गरेका थिए ।

उक्त विवादलाई जिल्ला कमिटीले टुङ्ग्याएको थियो । सोही क्रममा प्रतिनिधि छनाेटमा भीम आचार्य पक्षका नेता बढी छन् । जसको असर भण्डारीलाई पर्ने देखिएको छ ।

अध्यक्षका अर्का उम्मेदवार पोखरेल पनि ओली पक्षका पूराना नेता हुन् । उनलाई भीम आचार्यको साथ छ । जिल्ला अध्यक्षमा आचार्य पक्षका कोही नेता उठ्ने नदेखिएपछि उक्त पक्षले पोखरेललाई सहयोग गर्ने देखिएको हो ।

यसअघि जिल्ला उपाध्यक्ष भइसकेका पोखरेल १० बुँदे कार्यान्वयनको वकालत गर्ने नेता हुन् । याे समूहले भण्डारीलाई अध्यक्ष मान्न तयार नभएपछि पोखरेल अध्यक्ष बनेका हुन् ।

जिल्लामा कमजोर बन्दै गएका आचार्य पोखरेललाई अध्यक्ष बनाउन सके आफ्नो राजनीतिक यात्रा फराकिलो हुने आँकलन गर्छन् । पोखरेललाई धेरै प्रतिनिधि भएको धरानको साथ छ । पोखरेल र आचार्यको गृह नगर इनरुवा हाे ।

भण्डारीसँग असन्तुष्ट नेताको साथ पाएका उनी एमाले सुनसरीको नेतृत्व लिने दाउमा छन् । उनलाई केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज भगवती चौधरी पाटी स्थायी कमिटी भीम आचार्यले समर्थन गरेका छन् ।

पूर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरका मेयर चौधरी पनि अध्यक्षमा भिड्दै छन् । ओली पक्षबाट भण्डारी र आचार्यबाट पोखरेलले साथ पाएपछि उनी स्वतन्त्र सरह मैदानमा उत्रिएका छन् ।

पार्टीको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने नपाएका चौधरी पार्टीमा सम्मानजनक हैसियत खोजिरहेका छन् । कहिले विपक्षी दलका नेतालाई घरमा ल्याएर भोजन गराउने त कहिले सामान्य गतिविधिमा पार्टीलाई देखाउन विपक्षीसँग मिलेजस्तो गर्ने चौधरीले अध्यक्ष दाबी गरेका हुन् ।

विभिन्न विवादका कारण माथिल्ला नेताको साथ नपाएका चौधरी चुनावी मैदानमा गए सीमित मत आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट