आङ सान सूचीः म्यान्मारमा पदच्युत नेत्रीलाई थप चार वर्ष जेल सजाय-Sutra News

आङ सान सूचीः म्यान्मारमा पदच्युत नेत्रीलाई थप चार वर्ष जेल सजाय

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८
aang soochee soochee

म्यान्मारमा एउटा अदालतले पदच्युत नेत्री आङ सान सू चीलाई थप चार वर्ष जेल सजाय सुनाएको छ। सैन्य सरकारले उनीविरुद्ध चलाएका अनेकौँ मुद्दामध्ये सोमवार एउटामा फैसला आएको हो।



अदालतले सू चीले अवैध रूपमा वाकी-टकी राखेको र आयात गरेको एवं कोभिड-१९ सम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरेको छ।

यसअघि सू चीलाई गत डिसेम्बरमा पनि एउटा मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको सजाय सुनाइएको थियो।

गत फेब्रुअरी महिनामा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि उनलाई हिरासतमा राखिएको छ। उनीविरुद्ध झन्डै एक दर्जनवटा अभियोग लगाइएको छ।

तर सू चीले ती सबैको खण्डन गरेकी छन्। उनीविरुद्ध अन्यायपूर्वक मुद्दा चलाइएको भन्दै सर्वत्र निन्दा गरिएको छ।

सैन्य कू भएको दिन सैनिकहरूले उनको घर खानतलासी गर्दा फेला पारेका सञ्चार उपकरणका आधारमा उनलाई यो मुद्दा चलाइएको विश्वास गरिएको छ।

राजधानीमा गरिएको सुनुवाइमा सञ्चारमाध्यमलाई जान अनुमति दिइएको थिएन। सू चीका वकिलहरूलाई सञ्चारमाध्यम तथा सर्वसाधारणसँग सम्पर्क गर्न दिइएको छैन।

म्यान्मारमा सैन्य सरकारले सू चीविरुद्ध कसरी मुद्दा चलाउँदैछ ?

अहिलेको निर्णयपछि सू चीले पाउने जेल सजायको कुल अवधि छ वर्ष पुगेको छ।

गत महिना सू चीलाई विमति राख्न अरूलाई उक्साएको तथा कोभिड-१९ सम्बन्धी नियम भङ्ग गरेको मुद्दामा दोषी ठहर गरिएको थियो।

संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार निकायकी प्रमुख मिशेल ब्याचलेटले उक्त मुद्दाको आलोचना गरेकी थिइन्।

मानवाधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचले सू चीविरुद्ध चलाइएको मुद्दालाई “मिथ्या आरोपमा अदालती चटकको गोप्य कारबाही” को सङ्ज्ञा दिँदै सू चीलाई जेलमा राखिराख्न खोजिएको दाबी गरेको छ।

ह्यूमन राइट्स वाचले सू चीलाई सेनाले “गैरकानुनी कचहरीबाट झिनो र राजनीतिक रूपमा उत्प्रेरित अभियोगमा दोषी ठहर गर्न खोजेको” आरोप लगाएको छ।

सेनाले सू चीदेखि सडकमा नागरिक अवज्ञा आन्दोलनमा सहभागी सबै जनाको मानवाधिकारलाई कुल्चिन खोजेको उसको तर्क छ।

सन् २०२० को नोभेम्बरमा सम्पन्न निर्वाचनमा सू चीको न्याश्नल लीग फोर डिमोक्रेसी (एनएलडी) ले बहुमत पाएको केही महिनापछि सेनाले निर्वाचित सरकारलाई सत्ताच्युत गर्दै शासन आफ्नो हातमा लिएको थियो।

सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउने गरेको छ।

तर पर्यवेक्षकहरूले निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको बताउने गरेका छन्।

सैन्य कूपछि म्यान्मारमा ठूलाठूला प्रदर्शनहरू भए। सेनाले प्रजातन्त्रपक्षधर प्रदर्शनकारी, अभियानकर्ता र पत्रकारलाई दमन गर्‍यो।

अहिले सू चीसहित १०,६०० जनाभन्दा बढी मानिस सेनाको हिरासतमा छन्।

सेनाविरुद्ध भएको आन्दोलनमा कम्तीमा १,३०३ जनाको मृत्यु भएको तथ्याङ्क असिस्टन्स एसोशिएशन फोर पलिटिकल प्रिजनर्सले सार्वजनिक गरेको छ।

सबै अभियोगमा दोषी ठहर भए सू चीलाई आजीवन कारावास हुने धेरैको बुझाइ छ। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट