कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर, स्वास्थ्य सतर्कता शून्य-Sutra News

कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर, स्वास्थ्य सतर्कता शून्य

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा हेर्दा संक्रमित दर तेब्बरले बढेको छ । २३ पुसमा १४ हजार ९ सय ७१ जनाको नमुना परीक्षण गर्दा एकै दिन ९ सय ३८ जना संक्रमित थपिएका थिए । २४ पुसमा ९ सय ४४ जना संक्रमित थपिए ।



साथै २५ पुसमा १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण हुँदा ९.५ प्रतिशतले बढेको देखिएको थियो । जुन संक्रमण दर सोमबार ११ हजार ४ सय २९ जनाको परीक्षण गर्दा १ हजार ४ सय ४६ जना संक्रमित थपिए । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आएसँगै संक्रमण हुने दर उच्च बिन्दुमा बढिरहेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १.०४ को दरमा बढिरहेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ ।

संक्रमण दरको यो गतिलाई स्वास्थ्य विज्ञले कोरोना महामारीलाई तेस्रो लहर भनेका छन् । यसअघि कोरोनाको दोस्रो लहरमा नेपालमा ठूलो धनजनको क्षति हुन पुगेको थियो । अहिलेकै संक्रमण दर बढिरहे र संक्रमण रोक्ने उपाय’bout नसोचे संक्रमण दर झनै बढ्न सक्ने विज्ञको भनाइ छ । संक्रमण दर बढेसँगै ठूला अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि बढ्न थालेको छ ।

वीर अस्पतालको कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठका अनुसार खोकी, ज्वरो, टाउको दुख्ने समस्या भएका कोरोनाको नयाँ संक्रमित थपिने क्रम बढिरहेको छ ।

हाल सरकारले संक्रमण दर बढेपछि विद्यालय तहको पठनपाठन १५ माघसम्म बन्द गर्न निर्देशन दिइसकेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिनका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयमा वार्षिक बिदामा मिलान हुने गरी यही २०७८ पुस २७ गतेदेखि २०७८ माघ १५ गतेसम्म बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । बिदाको सो अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई देशभरका सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।

आपत्कालीन अवस्था आए अक्सिजन र शय्याको संख्या कति छन् ?
दोस्रो लहरको दाँजोमा हाल अस्पतालमा शय्याको संख्या र अक्सिजन पर्याप्त मात्रामा थप गरिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार देशभरमा ८ हजार २ सय २ आइसोलेसन, ३ हजार ८ सय ४६ एचडीयू, २ हजार ७ सय ९७ भेन्टिलेटर, १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर, ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट रहेका छन् ।

सार्वजनिक गाडीमा ४० जनासम्म
कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । तर, सार्वजनिक गाडीमा ४० जनाभन्दा बढी सर्वसाधारण दैनिक ओहोरदोहार गरिरहेका छन् । उपत्यकामा चल्ने धेरै सवारीसाधनमा स्वास्थ्य मापदण्डसमेत पालना गरेको पाइँदैन भने दैनिक ओहोरदोहोर गर्ने सार्वजनिक गाडीमा ४० जनासम्म यात्रु आवतजावत गरिरहेका छन् ।

माघ ३ गतेदेखि सार्वजनिक स्थान पार्क, फिल्म हल, रेस्टुरेन्ट र सपिङका लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने सिफारिस गरिए पनि हालसम्म देशभर ३६ प्रतिशतले मात्रै खोपको मात्रा लिएका छन् । अहिले नै यो व्यवस्था गर्दा आमसर्वसाधारण मर्कामा पर्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट