नेप्सेको सीईओमा ३ जनाको नाम सिफारिस, को बन्ला नयाँ प्रमुख ?-Sutra News

नेप्सेको सीईओमा ३ जनाको नाम सिफारिस, को बन्ला नयाँ प्रमुख ?

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस भएको छ । सीईओका लागि परेको कुल ११ आवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेकोमा सो मध्येबाट पनि दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो ।



समितिले रमेशकुमार भण्डारी, कृष्णबहादुर कार्की र केशव प्रसाद श्रेष्ठलाई दोस्रो चरणमा छनोट गरेको स्रोतले जनाएको छ । पहिलो चरणमा भण्डारी, कार्की र श्रेष्ठसँगै प्रविन पन्दाक र रमेश घिमिरे छनोटमा परेका थिए । दोस्रो चरणमा पन्दाक र घिमिरेलाई आउट गर्दै समितिले भण्डारी, कार्की र श्रेष्ठलाई सीईओका लागि सिफारिस गरेको हो ।

समितिले सोमबार बिहानै तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको बताइएको छ । सो मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई सीईओ छनोट गर्नेछ । नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन् ।

यसअघिका नेप्सेका सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएसँगै पदबाट राजीनामा दिएका दिए । साउदको राजीनामासँगै रिक्त रहन गएको सो पदमा अहिले खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट