भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप-Sutra News

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्। खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन्।



विद्यार्थीको सहजतालाई ध्यानमा राखी स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

मिजारका अनुसार मंगलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ।

त्यस्तै, मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मंगलबारदेखि खोप अभियान सुरु भएको मिजारले बताए।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन भइरहेको छ। ‘विद्यालय बन्द भए पनि स्थानीय तह र विद्यालयले समन्वय गरी खोप लगाउनेछन्,’ उनले भने।

भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । खोप अभियानका लागि विभिन्न विद्यालय तथा कलेजमा खोप केन्द्र तोकिएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट