डढेलोमा परी ज्यान गुमाएका वृद्धाको परिवारलाई एक लाख सहयोग-Sutra News

डढेलोमा परी ज्यान गुमाएका वृद्धाको परिवारलाई एक लाख सहयोग

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

सामुदायिक वन उपभोक्ता महासंघले खोटाङमा डढेलोमा परी ज्यान गुमाएका एक वृद्धाको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ । तारे भीर सामुदायिक वनमा लागेको डढेलोमा पर्दा गत २५ चैतमा ज्यान गुमाएकी बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ७३ वर्षीय डम्बरकुमारी आले मगरका परिवारलाई महासंघले वीमावापत एक लाख राहत रकम उपलब्ध गराएको हो ।



सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले डढेलोमा ज्यान गुमाएकी डम्बरकुमारीकी छोरा कृष्णबहादुर आले मगरलाई बुधबार भगवती सामुदायिक वनको कार्यालयमा एक कार्यक्रमका बीच राहत हस्तान्तरण गरेका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय कार्यालयको दैवी प्रकोप कोषबाट मृतक डम्बरकुमारीको परिवारलाई राहत स्वरूप रकम उपलब्ध गराइएको अध्यक्ष राईले बताए ।

मगर परिवार भगवती सामुदायिक वन लगायतका सामुदायिक वनको उपभोक्ता हुन् । डढेलो निभाउने क्रममा वा अन्य कारणबाट डढेलोमा परी ज्यान गुमाएका सामुदायिक वनका उपभोक्तालाई लक्षित गर्दै स्थापना गरिएको कोषबाट मगर परिवारलाई राहत प्रदान गरिएको हो ।

जंगलमा लागेको डढेलोको लप्काले भेट्दा डम्बरकुमारीको घट्नास्थलमै मृत्यु भएको थियो । बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा उनको जलेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट