ओमिक्रोन फैलिएका देशमा यात्रा नगर्न अध्यागमन विभागको आग्रह-Sutra News

ओमिक्रोन फैलिएका देशमा यात्रा नगर्न अध्यागमन विभागको आग्रह

बिहिबार, २९ पौस २०७८

बिहिबार, २९ पौस २०७८

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएका ९ वटा देशमा यात्रा नगर्न अध्यागमन विभागले अनुरोध गरेको छ । विभागले सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बाहेक ओमिक्रोन फैलिएका देशमा यात्रा नगर्न अनुरोध गरेको हो ।



विभागले आमिक्रोन देखिएका मुलुक दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमासमेत रोक लगाएको छ । १६ मंसीरदेखि लगाइएको रोक यथावत रहेको जनाएको छ ।

विभागले नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ ।

पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्नेगरी अनुमति दिने विभागले जनाएको छ ।

विभागका निर्देशक प्रकाशचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने उल्लेख छ ।

यस्तै खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल पासपोर्टबाहेक तथा आवासीय भिसा प्राप्त गरेका विदेशीको हकमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ आएमा १० दिन होटल वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने जनाइएको छ ।

यो व्यवस्था बाहेकको हकमा भने विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०८७ को आधारमा विभागबाट गएको ८ असोजमा जारी भएको सूचना बमोजिम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट