निक्षेपको ब्याजदर नबढाउने बैंकहरुको निर्णय-Sutra News

निक्षेपको ब्याजदर नबढाउने बैंकहरुको निर्णय

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

वाणिज्य बैंकहरूले माघ महिनामा पनि निक्षेपको ब्याजदर वृद्धि नगर्ने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार बैंकहरूले निक्षेपमा दिने पुरानै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।



वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले केही दिनअघि निक्षेपको ब्याजदर नबढाउने समझदारी गरेको थियो । नेपाल राष्ट्र बैंकले १० प्रतिशत बिन्दुभन्दा बढीको अन्तर नहुने गरी ब्याजदर वृद्धि गर्न सक्ने सुविधा वाणिज्य बैंकलाई दिएको छ ।

राष्ट्र बैंकले दिएको सुविधा उपयोग नगरी निक्षेपमा दिइने ब्याज वृद्धि गर्दा कर्जाको पनि बढ्ने भन्दै बैंकरहरूले पुरानैमा रोक्न प्रयास गरिरहेको एक बैंकरले जानकारी दिए । जसकारण मंसिरमा तोकिएको मुद्दती निक्षेपको १० प्रतिशत हाराहारीको ब्याजदरलाई त्यत्तिमै रोक्न बैंकहरूले यस पटक प्रयास गरेको पाइन्छ ।

तर यो वर्ष भने दसैंतिहारअघि नै बैंकिङ प्रणालीमा तरलताको चाप पर्न सुरु गर्‍यो । महामारीका कारण गत वर्ष लगानी हुन नसकेको कर्जा चालु वर्षको सुरुवातदेखि नै माग बढेको र जसले गर्दा तरलता अभाव सिर्जना गरेको बैंकरहरूको भनाइ रहँदै आएको छ।

गत असोजमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अघिल्लो महिनाको तुलनामा १० प्रतिशत बिन्दुले मात्र ब्याज दर बढाउन पाउने निर्देशन दिएको थियो । पुस यता बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर १०.०५ प्रतिशत र संस्थागत निक्षेपकर्ताका लागि ९.०५ प्रतिशत ब्याज दर तय गरेका छन् ।

त्यस्तै, साधारण बचतमा ६ प्रतिशत हाराहारी ब्याज दर तोकिएको छ । विकास बैंक र फाइनान्स कम्पनीले भने मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेका छन् । विकास बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरी १०.३५ प्रतिशतसम्म पुर्‍याएका छन् । गत महिनासम्म विकास बैंकहरूले मुद्दती निक्षेपमा १०.२५ प्रतिशतसम्म ब्याज दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट