धर्मशाला निरिक्षणपछि पर्यटनमन्त्री सक्ड, प्रतिवेदन भोली सार्वजनिक हुने-Sutra News

धर्मशाला निरिक्षणपछि पर्यटनमन्त्री सक्ड, प्रतिवेदन भोली सार्वजनिक हुने

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् । धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।



उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उदघाटन गरेका थिए ।

यसमा भारत सरकारको २५ करोड लगानी रहेको बताउँदै मन्त्री ओलेले भने, ‘तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर सानदार आलिशान, छ । सेभेन स्टारको हाराहारीमा मैले पाएँ ।’

‘नेपाल(भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ । त्यहाँ बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ । कतिपय संरचनाहरु अनुमतिविना बनाइएको पनि मन्त्री आलेले बताए ।

उनले छानबिनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए ।

छानबिन समितिका संयोजक नारायण सुवेदीले भोलि अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट