एमाले, कांग्रेस, माओवादी केन्द्र जिल्ला अधिवेशन : नेतृत्व हात पार्न नेताहरूबीच रस्साकस्सी-Sutra News

एमाले, कांग्रेस, माओवादी केन्द्र जिल्ला अधिवेशन : नेतृत्व हात पार्न नेताहरूबीच रस्साकस्सी

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

महोत्तरीमा राजनीतिक दलहरूको जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । जिल्लामा सबैभन्दा बढी चर्चा नेपाली कांग्रेस र एमालेको नै छ । नेताहरूबीचमा नेतृत्व हात पार्न देखिएको तँछाडमछाडले राजनीति तताएकाे छ ।



ती दलमा विभिन्न गुट-उपगुट भएकाले चासाे धेरै देखिएकाे हाे । नेपाली कांग्रेसमा संस्थापन र इतर समूह गरी चारवटासम्म प्यानल देखिएको छ । एमालेको ६ र ७ माघबाट हुने भनिएको जिल्ला अधिवेशन रोचकतर्फ उन्मुख भएको छ । २७ पुसमा जिल्ला आयोजक कमिटी सदस्य चयन गर्ने समबन्धमा समेत ठूलो विवाद सिर्जना भयो । एमालेका केन्द्रीय सदस्य सरोज यादव र टेकबहादुर बलम्पाकी सदस्यहरू निर्वाचित गर्ने सम्बन्धमा एकातिर उभिए भने पोलिटब्युरो सदस्य रामदयाम मण्डल र अर्की केन्द्रीय सदस्य बुधिनिदेवी अर्को कित्तामा उभिए ।

सद्स्यहरू निर्वाचित भएको घोषणासहित रामदयाम र बुधिनिदेवीले एक सय ८५ जनालाई सपथग्रहण गराए । उनीहरुले हलभित्र सपथग्रहण गराइरहँदा केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र सरोज यादव हलबाट बाहिर निस्केका थिए ।

नेता यादव र बलम्पाकीले हलबाट बाहिर निस्किँदै सञ्चारकर्मीलाई तत्काल फोन गरेर आयोजक कमिटीले निर्वाचित प्रक्रिया स्थगित गरेकाे घोषणा गरे । त्यसकाे केही समयमै बुधिनिदेवीले स॥चारकर्मीहरूलाई निर्वाचित सदस्यहरूको नामावली पार्टी कार्यालयमा लिन आउन आग्रह गरिन् । आन्तरिक कलह भए पनि एमाले सधै एकढिक्का रहेको र स्थानीय तहको निर्वाचनमा समेत भव्य सहभागिता रहने एमाले प्रदेश कमिटी सदस्य शारदादेवी थापा दाबी गर्छिन्।

एमालेभित्रको असन्तुष्टि सतहमै छताछुल्ल हुँदा पनि नेताहरू सार्वजनिक गर्न चाहँदैनन् । जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यसमेत रहेकी थापाले भनिन्-  `हामीभित्र त्यति ठूलो विवाद छैन । केही असन्तुष्ट पक्षहरूको चित्त बुझाउन भए पनि जिल्ला अधिवेशन नहुने देखिएको छ ।´

नेपाली कांग्रेस महोत्तरी अधिवेशन झनै रोचक छ । निर्वाचन अधिकृत अपहरण गर्नेदेखि निर्वाचनस्थलमा झडप गर्नेसम्मका हर्कतले कांग्रेस टुक्रा-टुक्रामा विभाजित छ । पार्टीमा देखिएको तान्डवले कतिपय नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । कांग्रेस महोत्तरीका युवा नेता शंकर फुँयाल पार्टीभित्र देखिएको झगडाप्रति चिन्ता व्यक्त गर्दै भन्छन्- `हामीले समाजसेवाका लागि राजनीति गरेका हौं, तर नेताहरूले पार्टीलाई व्यापार बनाए ।´

पार्टीको विधि र विधानविपरीत जिल्ला अधिवेशन तोकेको भन्दै क्षेत्रीय अधिवेशनको मिति निर्धारण गर्न कांग्रेसका बजरंग नेपालीले तीन दिनसम्म भोकहडतालमा बसेपछि क्षेत्रको अधिवेशन ३ माघलाई निर्धारण गरिएको थियो । तर कहिले हुने भन्ने ठेगान छैन ।

माओवादी केन्द्र पनि आन्तरिक कलहबाट अछुतो छैन । विवादकै कारण पालिकाहरूमा हुनैपर्ने अधिवेशन बाँकी छ । बर्दिबास नगरपालिकाभित्र दुई पक्षमा देखिएको किचलोले संयोजक अझै निर्वाचित हुन सकेको छैन ।

माओवादीभित्र पनि वैचारिक हिसाबले महोत्तरीमा पार्टीका दुई कित्ता छन् । माओवादी केन्द्रका स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेल र केन्द्रीय सदस्य राजु खड्काले आफ्नै उम्मेद्वार र प्यानल बनाइरहेको आरोप-प्रत्यारोप चलेकाे छ । तर पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनी अन्य पार्टी जसरी चिरा-चिरामा विभाजन नभएको अर्का केन्द्रीय सदस्य दिपबहादुर योञ्जन बताउँछन । स्थानीय तहकाे निर्वाचनसमेत नजिकिँदै गर्दा महोत्तरीका राजनीतिक दलमा देखिएकाे शक्ति संघर्षले सबैकाे ध्यान तानेकाे छ ।

माओवादी महोत्तरीका संयोजक तुलसी ढुंगानाले अन्य पार्टीको जस्तो किचलो नभएको बताए । प्रदेश कमिटीका लागि महोत्तरीले ३६ जना नेता पाउने भएकाले भागबन्डामा मिल्ने उनकाे दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट