कास्की प्रशासनले जारी गर्‍यो थप आदेश, पार्टी प्यालेसदेखि शिक्षण संस्था बन्द-Sutra News

कास्की प्रशासनले जारी गर्‍यो थप आदेश, पार्टी प्यालेसदेखि शिक्षण संस्था बन्द

मंगलबार, ४ माघ २०७८

मंगलबार, ४ माघ २०७८

जिल्ला प्रशासन कार्यलय कास्कीले थप आदेश जारी गरेको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि प्रशासनले आंशिकदेखि पूर्ण निषेधाज्ञाको निर्णय गरेको छ ।



गृह मन्त्रालयको निर्देशन र कोभिड १९ व्यवस्थापन केन्द्र कास्कीको बैठकले तत्कालै लागू हुनेगरी विभिन्न व्यवसायमा पूर्ण बन्देज गरेको छ । माघ १५ गतेसम्म  सिनेमा हल, पार्टी प्यालेस, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर लगायत व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको छ ।

प्रशासनले शैक्षिक संस्थाहरु, सभा सम्मलेन, गोष्ठी, सेमिनार, तालिम, महोत्सव र धार्मिक क्रियाकलाप समेत रोक्न भनेको छ । खेलकुद भने दर्शक नराख्न र पूर्व निर्धारित खेलमा खोप कार्ड भएका दर्शकलाई मात्रै प्रवेश गराउने निर्णय गरेको छ । दर्शक क्षमताको एक तिहाई मात्रै राख्न पाईने भएको छ ।

होटल तथा रेस्टुरेन्टहरुमा खोप कार्ड भएकाहरुलाई मात्र प्रवेश दिन भनिएको छ भने डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, पसलहरु संचालन गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने नियम छ । विवाह, ब्रतबन्ध, पूजापाठ जस्ता कार्यहरुमा पनि २५ जनासम्म सहभागी हुन पाइने छ ।
सार्वजनिक गाडीहरुमा यात्रा गर्दा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सीट क्षमता भन्दा बढी यात्रु बोक्न नपाईने, हवाई जहाजको यात्रा गर्दा खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । नियम पालना नगरे कानुन अनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट