लमजुङमा ७५ प्रतिशत निजी घर पुनर्निर्माण-Sutra News

लमजुङमा ७५ प्रतिशत निजी घर पुनर्निर्माण

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

लमजुङमा ०७२ को भूकम्पले क्षतिग्रस्तमध्ये ७५ प्रतिशत निजी घरकाे पुनर्निर्माण सम्पन्न भएको छ । साढे १० हजार निजी घर पुनर्निर्माण भएका हुन् ।



सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) का अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको अनुदान रकम लिइसकेका छन् ।

जिल्लामा १५ हजार ५ सय ७७ निजी घर पूर्ण क्षति र ८ सय ९४ प्रवलीकरण लाभग्राही सूची थिए । १४ हजार ६ सय २७ लाभग्राहीले पहिलो किस्ता बापतको रकम लिएका छन् भने १२ हजार ४४ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेका छन् ।

४ हजार १ सय ४३ घर निर्माणाधीन छन् ।

चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दुधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो ।

भूकम्पपछिको पुनर्निर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका २४ जनाले अनुदान रकम फिर्ता गरेका छन् । भूकम्पले घर भत्किएर पुनर्निर्माणका लागि अनुदान रकम लिएकाले घर निर्माण नगरेपछि रकम फिर्ता गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट