मोफसलका खेलकुद क्षेत्र थला पर्दै-Sutra News

मोफसलका खेलकुद क्षेत्र थला पर्दै

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

ताप्लेजुङमा कोभिड संक्रमित शून्य भएसँगै खेलकुद गतिविधिहरू हुन थालेको थियो । तर, विस्तारै नेपालमा तेस्रो लहरको कोभिड संक्रमण बढ्दै गएसँगै खेलकुदजन्य गतिविधिहरू धामधाम स्थगित हुन थालेको छ ।



दुई वर्षसम्म ताप्लेजुङमा खेलकुदजन्य गतिविधि शून्य जस्तै रह्यो । लामो समयसम्म निरन्तर सञ्चालन हुदै आएका खेलकुदहरू समेत सञ्चालन हुन सकेको छैन । प्रत्येक वर्षको लाखेजात्राको अवरसमा संञ्चालन हुँदै आएको जिल्लाको एकमात्र अन्तर्राष्ट्रिय फुटबल खेल कञ्चनजंघा च्यालेन्स कप दुई वर्षदेखि सञ्चालन हुन सकेको छैन । कोरोनाभाइरसका कारणले मोफसलमा खेलकुद क्षेत्र तंग्रिन पाएको छैन ।

जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिता आठराई त्रिवेणी गाउँपालिकाले आयोजना गर्न लागेको अध्यक्ष कप भलिबल प्रतियोगिता गत शुक्रबार स्थगित गरेको छ । फुङ्लिङ नगरपालिकाले दुई वर्षअगाडि देखि सञ्चालन गर्दै आएको मेयर कप यस वर्ष आयोजनाको मिति तोक्न तयारी गदैगर्दा कोभिड बढ्दै गएसँगै स्थगित गरिएको फुङ्लिङ नगरपालिकाले जनाएको छ । पाथीभरा याङवरक गाउँपालिकामा आयोजना हुन लागेको विभिन्न खेलकुद प्रतियोगिता गत साता स्थगित भएको छ ।

कोभिड-१९को संक्रमण कम हुँदा जिल्लामा महिनामा १२ देखि १६ वटासम्म खेलकुद प्रतियोगिताहरू भएको जिल्ला खेलकुद कार्यालय ताप्लेजुङका सचिव योग्यनिधि पौडेलले बताए । विभिन्न संघसंस्था तथा क्लबहरूले सञ्चालन गरेको खेलकुद गतिविधिले जिल्लाको खेलकुद क्षेत्र तंग्रिँदै जान थालेका बेला फेरि कोभिड संक्रमण बढेसँगै खेलकुद क्षेत्र थलिएको उनले बताए ।

लामो समय जिल्लामा खेलकुदजन्य गतिविधिहरू ठप्प हुँदा मोफसलमा रहेका खेलाडीहरू पलायन हुने, खेलाडीहरूको क्षमता विकास नहुनुका साथै निरासपनसमेत बढेको पौडेलले बताए । पछिल्लो समयमा जिल्लामा खेलकुद क्षेत्रलाई उठाउनका लागि कोभिड संक्रमित शून्य भएसँगै स्थानीय सरकारले खेलकुद प्रतियोगितासमेत सञ्चलन गर्दै आएको छ ।

गत २६ मंसिरमा मैंवाखोला गाउँपालिकाले प्रथम अध्यक्ष भलिबल प्रतियोगिता खेल सम्मपन गरेको छ । प्रतियोगितामा विजेतालाईलाई तीन लाख रुपैयाँ नगत र १६० तोला चाँदी जडित तीन वर्षे अध्यक्ष रनिङ कप मेडल र प्रमाणपत्र उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताए । यस्तै उपविजेताका लागि नगद एक लाख ५० हजारसहित कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको थियो । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई सान्त्वना स्वरुप ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान उपलब्ध गराएको थियो ।

प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कारको पनि व्यवस्था गरिएको थियो । त्यस्तै वेष्ट प्लेयर अफ द टुर्नामेण्ट बन्नेलाई नगद १० हजार, वेष्ट सर्भर, वेष्ट डिफेन्डर, वेष्ट सटर, वेष्ट ब्लकर र वेष्ट स्पाईकरका लागि पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रको प्रदान गरिएको थियो ।

मैवाखोला गाउँपालिकाले आयोजना गरेका प्रतियोगितामा धेरै खेलाडी प्रत्साहन मिलेका मैवाखोला गाउँपालिकाले जनाएको छ । गत ११ पुसमा सिरिजंघा गाउँपालिकाले पनि तीन लाख ३३ हजार ३३३ रुपैंया राशिको सिरिजंघा अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरेको थियो । प्रथम हुनेलाई सिरिजंगा लिपि अंकित २६१ तोला चाँदीको रनिङ ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो ।

उपविजेताले नगद एक लाख ५१ हजार १५१ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा सान्त्वना हुने दुई पालिकाका खेलाडीहरूलाई ५५ हजार ५५५ रुपैयाँका दरले रकम तथा ट्रफी,मेडल र प्रमाणपत्र उपलब्ध गराएको थियो ।

विभिन्न कलब, संघसंस्था तथा स्थानीय तहहरूले गरेको प्रतियोगिताले विस्तारै खेलकुद क्षेत्र गति लिदै गएको खेलकुद क्षेत्र अहिले खेलकुद गतिविधि ठप्प भएको भलिबल प्रादेशिक रेफ्री लक्ष्मी अन्छोङबोले बताए ।

खेलकुद गतिशील भएकाले लामो समय खेलकुद गतिविधि नसक्दा अपेक्षाअनुसार खेलकुद क्षेत्रमा विकास हुन नसक्ने अन्छोङबोले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट