तनहुँमा बुस्टर खोप दिन सुरु-Sutra News

तनहुँमा बुस्टर खोप दिन सुरु

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

तनहुँमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाएको ६ महिना पुरा भएकालाई बुधबारदेखि बुस्टर खोप दिन थालेको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शंकरबाबु अधिकारीले बताए ।



बुधबार पहिलो दिन १३२ जनालाई बुस्टर खोप लगाइएको उनले जानकारी दिए । स्थानीय तहको स्वास्थ्य शाखामार्फत नै बुस्टर खोप अभियान चलाइएको उनले बताए । ‘पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, जनप्रतिनिधि, एम्बुलेन्स चालक, सञ्चारकर्मी लगायतलाई बुस्टर खोप दिँदैछौं’, उनले भने ।

पूर्ण मात्राको खोप लगाएकालाई बुस्टरका रूपमा तेस्रो खोप लगाइने उनले जानकारी दिए । अधिकारीका अनुसार अबदेखि बुस्टर खोपलाई निरन्तरता दिइनेछ ।

जिल्लामा एक लाख ७० हजार १७० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ६८ हजार ८६० जनाले पहिलो मात्राको खोप लगाएर दोस्रो मात्राको पखाइमा छन् । ३१ हजार ७६८ जना बालबालिकाले मोर्डना खोप लगाएको तथ्यांक छ ।  ३६ हजार ९५५ जनालाई मोर्डना खोप लगाउने लक्ष्य थियो ।

यस्तै, जिल्लामा कोरोना संक्रमणको ग्राफ दैनिक उकालो चढ्दो छ । बुधबार मात्रै एकै दिन ८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २३० जनाको कोरोना परीक्षण गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

व्यासको कोभिड अस्पतालको ल्याबमा गरिएको पिसिआर परीक्षणबाट चार जना संक्रमित थपिएका हुन् ।  एन्टिजेनबाट ४५ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  ३४ जना पोखरामा भएको परीक्षणमा संक्रमित पहिचान भएका हुन् ।

योसहित तनहुँमा २०६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो लहर सुरु भएपछि तनहुँमा पाँच हजार ५५५ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ । पाँच हजार २५१ जनाले कोरोनालाई परास्त गरेका छन् । १३० जनाको वैशाखयता कोरोना संक्रमणले ज्यान लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट