छथर गाउँपालिकाद्वारा घरैमा ज्येष्ठ नागरिकलाई सम्मान र उपचार-Sutra News

छथर गाउँपालिकाद्वारा घरैमा ज्येष्ठ नागरिकलाई सम्मान र उपचार

बिहिबार, ६ माघ २०७८

बिहिबार, ६ माघ २०७८

छथर गाउँपालिका-१ तेह्रथुमकी तेम्बा सेर्पा ७९ वर्ष पुगिन् । उनलाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य केन्द्रसम्म पुग्न मुस्किल छ । ढल्किँदो उमेरकी सेर्पाले घरैमा उपचार पाउँदा खुसी ब्यक्त गरिन् । उनले उपचार मात्र पाइनन्, गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गर्दा गर्वले खुसी भइन् ।



‘सरकारले हामी जस्ता बुढाबुढीलाई सम्मान गर्दै उपचार गर्दा हामी खुसी छौं । उमेर पनि गयो । स्वास्थ्यचौकी पुग्नै मुस्किल छ । हाम्रो समस्यालाई बुझेकोमा सरकारलाई धन्यावाद,’ उनले भनिन् ।

तेम्बा जस्तै लाक्पा क्षेत्र सेर्पा पनि घर टोलमै सेवा लिन पाउँदा खुसी भएका छन् । ‘हामी बिरामी हुँदा स्वास्थ्य जाँच गर्न हिँडेर जान समस्या छ । स्वास्थ्य संस्था कमै मात्र पुग्ने गरेका छौं । स्थानीय सरकारले घर-घरमै सेवा दिएको छ । सेवा निरन्तरता दिँदै जाओस् । बिरामी हुँदा परिवारको सदस्यलाई भनेर स्वास्थ्य संस्था पुग्नुपर्छ । तर, घरैमा उपचार पाउँदा हामी भाग्यमानी झैँ लाग्छ,’ उनले भने ।

ज्येष्ठ नागरिकलाई शारीरिक रूपमा अशक्त बन्दै गएपछि सामान्य स्वास्थ्य जाँच गर्नसमेत मुस्किल हुने गरेको छ । गाउँ र टोल नजिकै स्वास्थ्य संस्था नहुँदा वर्षौंदेखि रोगले ग्रसित जीवन निर्वाह गर्नु परेको छ । जटिल तथा सिकिस्त बिरामी नभइन्जेल स्वास्थ्य संस्थामा कमै पुग्ने गरेका वृद्धवृद्धाहरूले घरमै सेवा पाउँदा खुसी लागेको बताएका छन् ।

‘गाउँपालिकाको चाहाना सुस्वास्थ्य र दीर्घायुको कामना’भन्ने मूल नाराका साथ स्वास्थ्यकर्मीसहितको टोलीलाई परिचालन गरेर गाउँपालिकाले सेवा प्रवाह गरिरहेको छ ।

गाउँपालिकाले ६ वटै वडामा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टोलीले सम्मान गर्दै स्वास्थ्य उपचार र औषधि वितरण गर्दै आएको छ । यो गाउँपालिकाले ज्येष्ठ नागरिकलाई स्थानीय सरकार गठनसँगै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । एकल पुरुष भत्ता, ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलगायत कार्यक्रम सञ्चालन गर्दै आएको हो । स्थानीय सरकार ज्येष्ठ नागरिकको अभिभावक बन्नको लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

पालिकामा रहेका ६० वर्षमाथिका दलित ७० वर्षमाथिका अन्यलाई सेवा दिँदै आएको गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकालले बताइन् । स्वास्थ्य जागरण अभियानअन्तरगत गाउँपालिकाले नागरिकलाई घरदैलो सम्मान तथा उपचारका साथै गाउँपालिका साथी लोरौं उपचार कार्यक्रम सञ्चालन गरेको प्रवक्ता राजन नेपालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट