सुरक्षित रहेर कार्यक्षेत्रमा खट्न पत्रकारलाई महासंघको आग्रह-Sutra News

सुरक्षित रहेर कार्यक्षेत्रमा खट्न पत्रकारलाई महासंघको आग्रह

बिहिबार, ६ माघ २०७८

बिहिबार, ६ माघ २०७८

नेपाल पत्रकार महासंघ खोटाङ शाखाले कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सावधानी अपनाएर कार्यक्षेत्रमा खट्न पत्रकारलाई आग्रह गरेको छ । दिनानुदिन कोरोना संक्रमण दर वृद्धि हुँदै गएको अवस्थामा महासंघले बिहीबार विज्ञाप्तीमार्फत पत्रकारलाई संक्रमणबाट जोगिएर समाचार संकलन र सम्प्रेषणका लागि आग्रह गरेको हो ।



महासंघका अध्यक्ष दिलीप खत्रीले जारी गरेको विज्ञाप्तीमा जिल्लामा कार्यरत पत्रकार/सञ्चारकर्मीलाई सकेसम्म घर वा कार्यालयमै रहेर काम गर्न, रिपोर्टिङका लागि बाहिर निस्कनुपर्ने अवस्था भएमा स्वास्थ्य सुरक्षा सम्बन्धी उच्च सतर्कता अपनाएर जिम्मेवारी वहन गर्न आग्रह गरिएको छ । महासंघले ‘आफू बच्न र अरूलाई पनि बचाउन’ भूमिका निर्वाह गर्न आग्रह गरेको छ । महासंघका अनुसार कोरोना भाइरसको तेस्रो लहरबाट नेपालमा हालसम्म विभिन्न सञ्चार गृहमा कार्यरत २३० जना सञ्चारकर्मी संक्रमित भइसकेका छन् ।

विज्ञाप्तीमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति र मापदण्डलाई पूर्ण रूपमा पालना गर्ने र गराउनेक्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउनका लागि उचित वातावरण बनाउन जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, सर्वसाधारण लगायत समक्ष अपिल गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट