‘विश्व सम्पदा’मा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णय कुर्दै पनौती-Sutra News

‘विश्व सम्पदा’मा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णय कुर्दै पनौती

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ ।



पनौती नगरपालिका–७ विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको हो ।

“सम्पूर्ण काम सकेर मन्त्रिपरिषद्मा बुझाइएको छ, बैठकको निर्णय लगत्तै पनौतीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नेछ”, नगरप्रमुख भीम न्यौपानेले भने। उनका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त निर्णयको आधारमा युनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ ।

नेपालस्थित मन्त्रिपरिषद्को निर्णय लगत्तै विश्व सम्पदामा सूचीकृत हुने युनेस्कोको नेपालस्थित कार्यालयले समेत जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक लगायत सम्पदाको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरपालिकाले लागि आवश्यक बजेट छुट्याएर प्रक्रिया अघि बढाएको न्यौपानेले बताए ।

देशमा राजनीतिक उतारचढाव, सरकार परिवर्तन, कोरोना सङ्क्रमणले पारेको प्रतिकूल प्रभावका कारण एक वर्षदेखि मन्त्रिपरिषद्मा पनौतीको विषयले प्राथमिकता नपाउँदा विश्व सम्पदामा सूचीकृत हुन नपाएको बताइन्छ । “हामी बाह्रवर्षे मकर–मेला अर्थात् यही माघअघि विश्व सम्पदा सूचीमा सूचीकृत हुने अपेक्षामा थियौँ, विविध कारणले रोकिएको छ”, न्यौपानेले भने । उनले मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेका कारण प्रक्रिया लम्बिनसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट