खोटाङ फुटबल एकेडेमीलाई इकिमा इन्टरप्राइजेजको साथ-Sutra News

खोटाङ फुटबल एकेडेमीलाई इकिमा इन्टरप्राइजेजको साथ

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको खोटाङ फुटबल एकेडेमी (केएफए)लाई इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलले साथ दिएको छ । दिक्तेलबजारमा केही समयअघि खुलेको होन्डाको आधिकारिक विक्रेता इकिमा इन्टरप्राइजेजले खोटाङ फुटबल एकेडेमीलाई एक वर्षका लागि प्रायोजक बनेर साथ दिएको हो ।



‘फुटबल सबैका लागि’ भन्ने नारासहित २०७३ सालदेखि विभिन्न उमेर समुहका खेलाडीलाई सहभागी गराएर फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको केएफएलाई इकिमा इन्टरप्राइजेजले ५० हजार बराबरको सहयोग गर्नेगरी आइतबार एक वर्षे सम्झौता गरिएको छ । स्वतःस्फुर्तरुपमा खेलाडी उत्पादन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैआएको केएफएको प्रोत्साहनका लागि आधिकारिक प्रयायोजकका रुपमा साथ दिइएको इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलका प्रोपाईटर किरणजित राईले बताए ।

केएफए र इकिमा इन्टरप्राइजेज बीचको सम्झौताले जिल्लामा पहिलोपल्ट फुटबल क्लव र व्यापारिक संस्थाबीच सहकार्यका लागि प्रायोजन गर्ने÷गराउने अभ्यासको थालनी भएको छ । केफएको फुटबल प्रशिक्षणले जिल्लाको खेल क्षेत्रको भविष्यमा सुनौलो योगदान पुग्ने भएकाले साथ दिइएको इकिमा इन्टरप्राइजेजले जनाएको छ । इकिमा इन्टरप्राइजेजको साथले फुटबल प्रशिक्षणलाई नियमित सञ्चालन गर्न र नयाँ खेलाडी उत्पादन गर्दै जिल्लाको फुटबललाई व्यवसायीक बनाउने प्रयासमा हौसला मिलेको खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेस श्रेष्ठले बताए ।

‘आउ बढाउ हातहरु खेलाडी बनाउन, देशको निम्ति फेरी अर्को सपुत जन्माउन’ भन्ने नारा अवलम्वन गरेको केएफएले शनिबार बाहेक हप्ताको ६ दिन दिक्तेलको माटिकोरे खेलमैदानमा फुटबल प्रशिक्षण सञ्चालन गर्दैआएको छ । हाल केएफएमा विभिन्न उमेर समुहका १२० जना खेलाडी नियमित प्रशिक्षणमा छन् । सहभागी खेलाडीलाई श्रेष्ठले बिहान साँढे पाँचदेखि साँढे सात बजेसम्म प्रशिक्षण दिने गरेका छन् । सन् २००७ मा अष्ट्रेलिया पुगेका श्रेष्ठ सन् २०१३ मा घर फर्किएर स्वयंसेवी प्रशिक्षकको भूमीका निर्वाह गरिरहेका छन् । हालसम्म जिल्लाका ९०० किशोर किशोरीलाई प्रशिक्षण दिँदा पाँच सयको हाराहारीमा खेलाडी उत्पादन भइसकेको प्रशिक्षक श्रेष्ठले बताए ।

फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ २०७३ सालमा स्थापना गरिएको केएफएको पहलमा दिक्तेलको माटिकोरे खेलमैदानमा करिब सात हजार दर्शक अट्ने दिक्तेल रंगशाला निर्माणको काम अघि बढेको छ । रंगशालाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २७ मंसिरमा ४ करोड ८० लाखको टेण्डर आव्हान गरिसकेको छ । केएफएले एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने जिम्मा लिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट