सहिद सप्ताहको आज दोस्रो दिन-Sutra News

सहिद सप्ताहको आज दोस्रो दिन

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

सहिद सप्ताहअन्तर्गत आज मंगलबार दोस्रो दिन सहिद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।



१०४ वर्षिय जहानिँया राणा शासनविरुद्ध आवाज उठाउँदा १३ माघ १९९७ मा धर्मभक्त माथेमालाई तत्कालीन राणा शासकले सिफलमा फाँसी दिएको थियो ।

९ असोज १९६६ काठमाडौँको ओमबहालमा जन्मिएका माथेमा जेठ १९९३ मा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील थिए ।

हरेक वर्ष १० माघबाट सहिद सप्ताह मनाउने गरिन्छ । यस वर्ष पनि सोमबारबाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ ।

२०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म सहिद सप्ताह मनाउने गरिएको छ ।

१३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएको थियो । १६ माघलाई सहिद दिपवसको रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट