राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूराः आयोग-Sutra News

राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूराः आयोग

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

यहि माघ १२ गते अर्थात भोली बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।



आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए ।

मतदानका लागि सातवटा प्रदेशका आठ स्थानमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरुका एक÷एक वटा मतदान स्थल छन् ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

निर्वाचनका लागि मतदाताले आफ्नो परिचय खुल्ने सरकारी कागजात बोक्नुपर्ने आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट