बैंकहरुमा पुनः तरलता अभाबको संकेत, एक हप्तामै १३ अर्ब निक्षेप घट्यो-Sutra News

बैंकहरुमा पुनः तरलता अभाबको संकेत, एक हप्तामै १३ अर्ब निक्षेप घट्यो

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

बैंकहरुमा लगानी योग्य रकम (तरलता)को पुनः अभाव हुने संकेत देखिएको छ । स्थानीय तहको मौज्दात रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाएपछि सहज भएको तरलता समस्या पुनः बल्झिने देखिएको हो ।



नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा नै बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । ३० पुससम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप थियो । माघ ७ गते निक्षेप घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ । यस अवधिमा भने वाणिज्य बैंकहरुले एक अर्ब रुपैयाँले ऋण बढाएका छन् ।

दशैंपछि लगानीयोग्य रकमको अभाव झेलेका बैंकहरुले स्थानीय तहको मौज्दातलाई निक्षेपमा गणना गर्न पाएपछि केही राहत महसुस गरेका थिए ।
२६ पुसको तथ्यांकमा एक सातामा नै सातामा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । त्यसअघि ऋण प्रवाह धेरै हुने र निक्षेप संकलन एकदमै कम हुँदा बैंकहरुले तरलता समस्याको चर्को अभाव झेलिरहेका थिए ।

त्यसबेला सातामा ५८ अर्ब रुपैयाँ निक्षेप थपिँदा ९ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको थियो । तर यो अवस्था एक सातासम्म पनि टिक्न सकेन । २६ पुसपछि लगातार निक्षेप घट्ने क्रममा रहेको पाइएको छ । निक्षेप घट्दै जाने र कर्जा विस्तार नरोकिने हो भने पुनः लगानी योग्य रकमको अभाव बैंकहरुले झेल्नु पर्नेछ ।

बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले दोस्रो त्रैमासको क्लोजिङको समय भएकाले निक्षेप घटेको बताए । उनले पुस मसान्तमा दोस्रो त्रैमाससम्मको कर तिर्दा धेरै पैसा गएकाले निक्षेप घटेको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट