फूलको थुंगासमेत नपाएका सहिदका सालिक-Sutra News

फूलको थुंगासमेत नपाएका सहिदका सालिक

आइतबार, १६ माघ २०७८

आइतबार, १६ माघ २०७८

पृथ्वी राजमार्गको छेउमा सहिद लालध्वज पार्क छ । कोत्रे बजारमा रहेको सानो पार्कमा सहिद लालध्वज गुरुङसँगै सर्वसिङ गुरुङ, हस्तवीर गुरुङ र इमानसिङ गुरुङको सालिक ठडाइएको छ । ढुंगामा कुँदिएको सालिक राजमार्ग छेउमै भएकाले धुलाम्मे देखिन्छ । ढुंगा बिछ्याइएको पार्कमा पनि धुलो जमेर त्यसैमाथि झारपात उम्रेका छन् ।



आइतबार देशभर सहिद दिवस मनाइएको छ । देश परिवर्तनका निम्ति क्रान्तिमा होमिएर प्राणको आहुति दिएका सहिदहरूको सालिकमा माल्यार्पण गर्दै योगदानको चर्चा गरेर विभिन्न स्थानमा दिवस मनाइयो । तर, राजमार्गको छेउमा रहेको कोत्रेको सहिद पार्कमा भने केही कार्यक्रम भएन ।

स्थानीय सरकार, स्थानीयवासी, राजमार्गमा ओहोरदोहोर गर्ने यात्रु कसैको नजर परेन । र, निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धमा लागेर कोत्रे बजारमा २०१८ सालमा सहादत प्राप्त गरेका ती सहिदको सालिकले सहिद दिवसको दिनमा पनि एउटा फुलको थुंगो पाएन । सालिकमा माल्यार्पण भएन । सहिद दिवसको दिनलाई मात्रै भए पनि पार्क परिसर सरसफाइ गरेर चिटिक्क बनाउन सकेनन् कोत्रेवासीले ।

शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा पनि पृथ्वी राजमार्गको छेउमा जनयुद्धका सहिदहरूको सम्झनामा स्मृति पार्क बनाइएको छ । पार्कमा जनयुद्धका सहिदको बलिदानीलाई सम्मान गर्दै प्रतिकात्मक मूर्ति राखिएको छ । त्यहीको मूर्तिको छत्रछायामा बसेर आइतबार एक घण्टा सहिदको स्मरण गर्नलाई पनि सहिद स्मृति पार्क निर्माण समितिले कन्जुस्याइँ गर्‍यो ।

२०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गरेका सहिद कृष्णप्रसाद पौडेलको सालिकले पनि सहिद दिवसको दिन फुलको थुंगो पाएन । शुक्लागण्डकी नगरपालिका-८ पाटनमा उनको स्मृतिमा पार्क त बनाइएको छ । तर, पार्कमा राखिएको सालिकले फुलको थुंगोसमेत नपाएको बेला उनको योगदानको चर्चा हुने भएन नै ।

यी त केबल प्रतिनिधि सहिदका सालिक हुन् । वर्षभरी बेवास्ता गरे पनि कम्तीमा एक दिन सहिद दिवसमा समेत सहिदका सालिकले फुलको थुंगो पाउन मुस्किल देखिएको छ । देशभर सहिद दिवस मनाइरहँदा सहिदका सालिकले एउटा फुलको थुंगोसमेत नपाउनुले सहिदको योगदानको अपमान भएको महसुस गर्छन् सहिद परिवार ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट