विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको कोरोनाबाट मुक्ति पाउन संसारभरका मानिसहरूको ध्यान डब्ल्यूएचओतिर सोझिने नै भयो । तर, मानिसहरूले अपेक्षा गरेजति काम गर्न डब्ल्यूएचओले नसकेको आरोप अहिले पनि लागिरहेको छ । साथै, कोरोना महामारीको उत्पत्ति भएको मानिएको चीनको वुहान पुगेर विश्वसनीय ढंगमा अध्ययन गर्न पनि नसकेपछि यो विश्व संस्था र त्यसका प्रमुखमाथि प्रश्नहरू उठ्न थालेका हुन् ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त लामो समयसम्म डब्ल्यूएचओमाथि औंला ठड्याइरहे । संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी पनि दिए र डब्ल्यूएचओ चीनको मतियार भएको आरोप पनि लगाइरहे । डब्ल्यूएचओ पनि लामो समयसम्म कोरोनालाई महामारी मान्न तयार भएन र यो भाइरस भुसको आगोझैं संसारभर फैलँदै गयो ।
टेड्रोस एक्लैले गर्न सक्ने काम त केही थिएन, उनले सधैंजसो गरिब देशको पक्षमा वकालत गर्दै आए । भ्याक्सिन आविष्कार भइसकेपछि पनि धनी देशले त्यसमा एकाधिकार जमाउन खोज्दा उनले विरोध गरिरहे । तर, यतिले मात्र त्यो विश्व संस्थाको प्रमुखको जिम्मेवारी पूरा भएको मान्न सकिएन र उनीबाट थप काम होस् भन्ने अपेक्षा गरियो ।
टेड्रोसप्रति असहमति केवल कोरोना महामारीको समयमा मात्र देखिएको भने होइन । गृहयुद्ध चलिरहेको टिग्रेमा आमनागरिकविरुद्ध जातीय आक्रमण भइरहँदा डब्ल्यूएचओले खाद्य तथा औषधि आपूर्ति रोकेको थियो । त्यसबखत टेड्रोसका परिवार र उनका मित्रहरूसमेत संघर्षको निशानामा परेका थिए । टेड्रोस इथियोपियामा टिग्रे पिपल्स लिबरेसन फ्रन्ट पार्टीमा आवद्ध थिए ।
संयुक्त राष्ट्र संघको एक एजेन्सीको निर्वाचित प्रमुखमाथि औंला तेर्सिनु वा उनको अपमान हुनु चिन्ताजनक कुरा त हो नै साथै यसले व्यापक समस्याको उठान पनि गरिदिएको छ । अन्तर्राष्ट्रिय संगठनका नेताले सदस्य राष्ट्रहरू कसैले पनि सर्वमान्य नियम र कानुन उल्लंघन गर्दा त्यसविरुद्ध बोल्नुपर्छ । तर, टेड्रोसले कोरोना महामारीलाई बेवास्ता गर्ने वा हेलचेक्राइँ गर्ने देशविरुद्ध नबोलेको आरोप लाग्दै आएको छ ।
टेड्रोस दुविधामा रहने व्यक्ति भनेर प्रायः मानवतावादीहरूले मूल्यांकन गर्दै आएका छन् । तर, समस्या कस्तो छ भने, यदि उनले पीडितका पक्षमा बोले भने सम्बद्ध देशको सरकार उनीविरुद्ध खनिन्छ र उनले सरकारको पक्षमा बोले भने मानवअधिकारवादीहरू उनको विरोध गर्न थाल्छन् ।
डब्ल्यूएचओ एउटा बहुपक्षीय विकास एजेन्सी हो । संसारभरको स्वास्थ्य अवस्थाबारे चासो राख्नु र सक्दो मद्दत गर्नु यसको मानवीय कर्तव्य हो । अहिले कोरोना महामारीको समयमा यो विश्व संस्थाको महत्व झनै बढेको छ ।
टेड्रोसकै देश इथियोपियाका साथै यमन र म्यान्मारजस्ता मुलुकमा मानवअधिकारवादीको भूमिका खुम्चन पुगेको छ । अचेल मानवअधिकारवादीहरू इथियोपियामा तबमात्र काम गर्न सक्छन्, जब उनीहरूलाई सरकारले समर्थन गर्छ । मानवअधिकारको सवालमा मात्र होइन, अन्तर्राष्ट्रिय रुपमा हुँदै आएको सामूहिक सहयोगका प्रभाव संसारभर अहिले खुम्चँदै गएको देखिन्छ ।
वास्तवमा टेड्रोसको दया भावना र उनको अन्तरआत्माले मानवताको पक्षमा आवाज उठाउन बल दिएको छ । जिम्मेवार पदमा बस्नेहरू यत्तिको त हुनैपर्छ । यसबाट नै संसारका मानिसहरूलाई कुनै पनि खाले महामारी र विभेदबाट जोगिन मद्दत मिल्छ ।
तर, टेड्रोस हुन् या अन्य कुनै पनि विश्व संस्थाका प्रमुख तिनले कुन बेला, कुन कुरालाई जोडतोडले बाहिर ल्याउने अनि कुन कुरालाई सानो स्वरमा बुझाउने भन्ने तथ्य भन्ने बुझ्न सक्नुपर्छ । यो कोरोना महामारीको समय हो, यसबखत टेड्रोसले भ्याक्सिनको समान वितरण, आवश्यक अन्य औषधिमूलोको समान ढंगमा संसारभर उपलब्धताको वकालत ठूलो आवाजमा गर्न सक्नुपर्छ । र, यो महामारी यसरी तीव्र गतिमा फैलनुमा दोष कसको रहेको छ भन्नेबारे पनि उनले मुख खोल्नैपर्छ ।
टेड्रोस यो उच्च पदमा पुग्ने पहिलो अफ्रिकी हुन् । उनले निर्वाचन नै जितेर सो पद प्राप्त गरेका हुन् । डब्ल्यूएचओको ७० वर्षको इतिहासमा पहिलो पटक सबै सदस्य देशलाई मतदानको समान अधिकार दिइएको थियो । यसअघि कार्यकारी बोर्डले मतदान गरेर यो पदमा प्रमुख छान्ने गरिन्थ्यो । टेड्रोसले निर्वाचनमा दुईतिहाइ मत पाएका थिए ।
डब्ल्यूएचओ प्रमुखमा उनको पाँच वर्षे म्याद (२०१७–२०२२) सकिनै लाग्दा पुनः एकपटक उक्त पदमा बस्न चाहने इच्छा उनले प्रकट गरेका छन् । तर उनकै देश इथियोपियामा भने उनीविरुद्ध आवाज उठिरहेको छ । इथियोपियाको सरकारले आफ्नो आन्तरिक मामिलामा टेड्रोस र डब्ल्यूएचओले हस्तक्षेप गरेको आरोप लगाइरहेको छ । त्यसो त इथियोपियाको विरोधले उनलाई पदमा पुनः नियुक्त हुन कुनै असर गर्दैन । समग्रमा राम्रै काम गरिरहेकाले पनि उनले डब्ल्यूएचओ प्रमुखको कुर्सी पुनः प्राप्त गर्न सफल हुने छन् ।
एजेन्सी