काठमाडौँ । अमेरिकाले दिने भनेको जम्मा साठी अर्ब रुपैयाँको विषयलाई लिएर नेपाली राजनीति केहीदिन देखि धमिलिन थालेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध खोलिएको सत्ता गठबन्धनमा पनि यसले तरंग उत्पन्न गरिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमसीसी कुनै पनि हालतमा पास गर्नुपर्ने मनस्थितिमा देखिएका छन् भने यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत केही नेताहरु यसको विपक्षमा देखिएका छन् ।
त्यसो त गठबन्धन फुटे त्यसको घाटा नाफा व्यहोर्ने तर एमसीसी कुनै पनि हालतमा अनुमोदन गर्न नहुने पक्षमा रहेका छन् माओवादी नेताहरु । प्रचण्डका प्रियपात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रचण्डले जे भन्यो त्यहि मान्ने पक्षमा रहेका छन् ।
एमसीसीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उत्साहित भएको छ । एमसीसीको कारण सत्ता गठबन्धन धरापमा रहेको कुरा एमालेले राम्रोसंग बुझेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडे एमसीसी पास गर्न सहयोग गर्ने भनेर पनि बताउंदै आएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाइरहेका छन् ।