आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा-Sutra News

आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा

सोमबार, २४ माघ २०७८

सोमबार, २४ माघ २०७८

कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ ।



ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् ।

सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य व्यक्तिहरुले पनि साथ दिएपछि क्यानडाको राजधानी सहर ठप्प जस्तै भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

आन्दोलनकारीले सडकमा ट्रक तेर्स्याएर र टेन्ट राखेर यातायात आवागमन बन्द गराएका छन् । आन्दोलनको क्रममा हिंसा र दुर्व्यवहार भएको भन्दै उजुरी पनि परेका छन् ।

क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका(क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो ।

यही आदेशको विरोधमा ट्रक चालकहरुले प्रदर्शन सुरु गरेका थिए । अहिले त्यही प्रदर्शन व्यापक हुँदै गएको हो । उनीहरुले प्रदर्शनलाई ‘फ्रिडम कन्भोई’ नाम दिएका छन् ।

राजधानी ओटावाका साथै टोरन्टो, क्विबेक, फ्रेडेरिक्टज र विनिपेगमा पनि कोभिड खोप अनिवार्य गरिएको विरोधमा प्रदर्शन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट