रुसी ग्याँस पाइपलाइन बन्द गरिदिने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी-Sutra News

रुसी ग्याँस पाइपलाइन बन्द गरिदिने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

मंगलबार, २५ माघ २०७८

मंगलबार, २५ माघ २०७८

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे जर्मनीसम्म पुगेको रुसी ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् ।



जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म जोडिएको ग्याँस पाइपलाइन ‘नोर्ड स्ट्रीम-२’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि अमेरिका र जर्मन सरकार प्रमुखबीच छलफल भएको हो । रुस-युक्रेन तनावकाबीच जर्मनीले दिएको एक अभिव्यक्ति विवादित भएपछि शोल्जले अमेरिकी राष्ट्रपति बाइडनसँग भेटवार्ता गरेका थिए ।

‘नोर्ड स्ट्रीम- २’ प्राकृतिक ग्याँस पाइपलाइन बाल्टिक सागरको मुनिबाट रुसबाट जर्मनीसम्म पुगेको छ । अमेरिका र जर्मनीका साझेदार युरोपेली देशहरु सुरुदेखि नै यो ग्याँस पाइपलाइनको विरोधमा छन् ।

किनभने युरोपका देशहरुमा रुसी ग्याँस पाइपलाइनप्रति निर्भरता बढ्ने र कुनै विषयमा विवाद भएमा रुसले आफ्नो फाइदाका लागि यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्ने उनीहरुको आशंका छ । त्यसैले यो ग्याँस पाइपलाइन खारेज गर्न अमेरिकालगायत देशहरुले यसअघि जर्मनीकी चान्सलर एन्गेला मर्केलसँग छलफलसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट