रचना रिमालले गाएको ‘नबिर्से तिमीलाई’ किन पर्यो विवादमा ?-Sutra News

रचना रिमालले गाएको ‘नबिर्से तिमीलाई’ किन पर्यो विवादमा ?

बुधबार, २६ माघ २०७८

बुधबार, २६ माघ २०७८

गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपाएँ तिमीलाई…यतीबेला विवादमा परेको छ । यो गजललाई तीन दिन अघि गीतकार विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराएपछि अहिले यो गजलको प्रस्तुति विवादमा परेको हो ।



यस अघि यो गजललाई सुरुमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदिश समालको स्वरमा रेकर्ड गराएर बजारमा ल्याईएको थियो । त्यतिबेला निकै चलेको यो गजललाई अहिले रचना रिमालको स्वरमा रेकर्ड गरेर ‘रचना रिमाल भर्सन’ भन्दै बजारमा ल्याएपछि श्रष्ठाहरुले यसको टिप्पणी गरेका छन् ।

अहिले रिलिज गरिएको रचना रिमालको स्वरको यो गजलको भिडियोमा यस अघिका गायक गायिका अन्जु र जगदिशको नाम कतै पनि छैन । अन्जु र जगदिशले आ आफ्नो स्वरबाट सर्वाधिक लोकप्रिय बनाएको यो गीतलाई अहिलेको भिडियोमा ती दुईको नाम नराखी रचनाकै गीत हो भनेर प्रस्तुत गरिएकोमा श्रष्टाहरुले आपत्ति जनाएका हुन् ।

गीतको भिडियोमा ‘क्रेडिट टाईटल’ राख्दा बास्तविक प्रथम श्रष्टाको नाम राख्ने गरिन्छ । तर गजलकार तथा यो गीतका निर्माता विपिन किरणले अन्जु र जगदिशको नाम राखेनन् । उनले रचना रिमाल भर्सन भनेर श्रोता दर्शकमाझ गीतलाई ल्याए । नविर्से तिमीलाई गजलनै पहिलो पटक रचनाले गाएको भन्ने शैलीले सार्वजनिक गरिएकोमा सँगीतकर्मीहरुको आपत्ति हो । बास्तविक श्रष्टालाई सम्मान दिएर पुन गायन अर्थात रि भोकलिङ भनेर बल्ल रचना रिमालको नाम राखिनु पर्ने कथन विभिन्न संगीतकर्मीको छ ।

यसै विषयमा गायक रजेश पायल राईले अन्जु पन्त र जगदिश समाल प्रति अहिले अबहेलना भएको भन्दै फेसबुकमा यस्तो लेखेका छन्,‘ बिपिन किरण जस्तो हस्ती जस्ले स्रस्टाको हकको लागि लड्ने मान्छे, अनी महेश खड्का नामै काफी जस्को नाम बिना संगीत अधुरो हुन्छ अनी दुई हस्तिले यो गीत रेकर्ड गारिरहदा असली गायक जगदिश ,गायिका अन्जु पन्त लाई सम्झनु पर्दैन ? विवरणमा असली गायक जगदिश समाल र गायिका अन्जु पन्तको नाम उल्लेख नगर्नु हामी सबैलाई हानिकारक ।’ तर रचनाको गायकी तारिफ योग्य भएको पनि राजेश पायलले लेखेका छन् ।

यस्तै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले पनि बास्तविक श्रष्टाको नाम नै हटाएर नयाँ गीत गाउने श्रष्टाको नाम मात्र राख्नु राम्रो नभएको बताएका छन् । उनले पनि सामाजिक सञ्जलमार्फत यस्तो प्रतिक्रिया लेखेका हुन् । अन्जु पन्तले यो गीतलाई आफ्नो स्वरबाट हिट बनाएको र अहिले अन्य कलाकारको स्वरमा रेकर्ड गर्दा अन्जुकै नाम हटाउनु उनी प्रति अपमान भएको अध्यक्ष अधिकारीको भनाई छ । यो गल्तीलाई सच्याएर रचना रिमालको स्वरमा रेकर्ड भएको यो गीतमा अब पूर्व गायक जगदिश समाल र गायिका अन्जु पन्त नाम बास्तविक गायक गायिकाको रुपमा राखिनु पर्ने सुझाब संगीतकार सुरेश अधिकारीले बताएका छन् ।

यतीबेला अमेरिकामा रहेकी यो गीतको प्रथम गायिका अन्जु पन्तले पुन रेकर्ड भएको यो गीतको विषयमा कुनै टिप्पणी गरेकी छैनन् । बरु यसका गीतकार तथा निर्माता विपिन किरणले आफु रचनाकारसँगै निर्माता भएकाले गीतको पूर्ण अधिकार आफुमा निहित रहेको बताएका छन् । यस विषयमा उनले भने,‘अन्जु पन्तको स्वरमा तयार गरेर निकालिएको भिडियोमा अन्जुकै नाम छ । यो रचनाको स्वरमा निकालिएका कारण हामीले अन्जुको नाम राख्न उचित देखेनौं ।’

गीतकार विपिन किरणले अगाडि थपे,‘मेरो एक समय वर्षकै सर्वाधिक सफल भएको यो गजललाई नयाँ पुस्ताको स्वाद अनुसार पुन बजारमा ल्याउन रचनाको स्वरमा रेकर्ड गराएका हौं । सोही कारण पनि यसलाई हामीले रचना रिमाल भर्सन भनेर अहिले सर्वाजनिक गरेका हौं ।’

राजेश पायल राई, सुरेश अधिकारी, पुन्य गौतमलगायत धेरैले अहिले रचना रिमाल भर्सन प्रति आपत्ति जनाउनु त्यति न्यायिक नभएको पनि बिपिनको भनाई छ । आफुले अन्जु पन्तसँग सल्लाह गरेर बल्ल रचना रिमालको स्वरमा पुन रेकर्ड गराएर बाहिर ल्याएको पनि बताए । राजधानी दैनिकमा खबर छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट