अमरगढी नगरपालिकामा आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति लोकिएसँगै राजनीतिक दलले चुनाव लक्षित योजना, कार्यक्रमतय गरिरहेका छन् । निर्वाचन आयोगले आवश्यक तयारी थालिरहेको छ । गाउँघर, सहर बजार, चिया पसल, चौतारोदेखि गल्लीगल्लीमा चुनावको चर्चा सुरु भएको छ । २०७२ सालमा नेपाल नयाँ संविधान जारी भएसँगै संघीयतामा गएको नेपालमा २०७४ सालमा २० वर्षपछि स्थानीय तहको निर्वाचन भएपछि संघीयताको अभ्यास थालिएको थियो । आउँदो वैशाख ३० गते हुने निर्वाचनले संघीयता लागू भएको आभास गराउने छ ।
आउँदो स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा स्वतन्त्र तर्फका उम्मेदवार घोषणा समेत हुन थालेका छन् । तर, डडेल्धुरामा भने नेपाली कांग्रेको आन्तरिक विवाद फेरि एकपटक उत्सर्गमा पुगेको छ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसभित्र जहिले पनि विवाद नै हुने गरेको छ । यसपटक भने महाधिवेशनका बेला तत्कालीत जिल्ला सभापति कर्णबहादुर मल्लले जिल्ला अधिवेशन केही दिन सार्न भनेका थिए । उनको सभापतित्वमा जिल्ला कार्य समितिको बैठक बसी बहुमतको निर्णयले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । तर, अर्काे पक्ष देउवा निकट भनिने नेताले भने वडा, गाउँ, नगर, जिल्ला अधिवेशन सम्पन्न गर्दै १४औं महाधिवेन सम्पन्न ग-यो ।
स्थानीय तहको मिति तोकिएपछि चुनावी रणनीति बनाउन अहिले दुईवटै पक्ष सक्रिय देखिएका छन् । मल्ल पक्षले बैठकको आयोजना गर्दै डडेल्धुराका सातवटा स्थानीय तह र ५२ वटै वडामा उम्मेदवारी दिने कुरा बाहिर आइरहेका छन् । यद्यपि, निर्णय भने सार्वजनिक गरेका छैनन् । देउवा पक्षको नयाँ कार्य समितिले पनि छलफल थालेको छ । मंगलबार जिल्ला सदरमुकाम पुगेका वर्तमान जिल्ला सभापति भीमबहादुर साउदले बुधबारदेखि घनिभूत छलफल गर्ने जानकारी दिए । दुवै पक्षका नेताले आआफ्ना धारण सामाजिक सञ्जाललगायत आफू निकटका नेता कार्यकर्तामाँझ गरिरहेका छन् । १४औं महाधिवेशनका बेला जिल्ला कार्य समितिबाट सिफरिस गरी पठाइएका क्रियाशील सदस्यमध्ये ४ सय ६० जनाको नाम काटिएर आएको थियो भने अरू ३ सय १२ जनाको नाम थपिएर आएको थियो ।
आफूले थप गरेका सदस्यको नाम काटिएपछि मल्ल पक्षले किन काटियो र किन थपियो ? भन्ने प्रश्न राखेका थिए । तर, त्यसको कुनै जवाफ आएन ।
२०७४ सालको स्थानिय निर्वाचनमा जिल्ला कार्य समितिले उम्मेदवारलाई टिकट बाढ्न नपाएको जनाएको थियो । होटेल र निजी घरका कोठाबाट देउवानजिक मानिने रघुवर भट्टले उम्मेदवारको टिकट दिएको आरोप मल्लले लगाउँदै आएका थिए । अहिले त झन् मल्ल पक्ष बाहिर नै छ । भट्टलगायत जिल्ला सभापति साउदले उम्मेदवारको टिकट बाँड्ने निश्चित छ । यस कारण पनि दुईवटै गुट मिलेर जाने सम्भावना निकै कम छ । दुई पक्ष आआफ्नै अडानमा छन् । जिल्ला अधिवेशन स्थगित गर्दा नमानेकाले देउवा पक्षको आग्रहलाई नमान्ने मल्ल पक्षका नेताको भनाइ छ ।
२०७४ सालको निर्वाचनमा मल्ल पक्षले आफू निकटबाहेक अरू कांग्रेसका उम्मेदवारलाई हराएको आरोप देउपा पक्षका नेताको छ । तर, मल्ल पक्षले कमजोर उम्मेदवारलाई टिकट दिएका कारण हारेको उल्लेख गर्दै आएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको गढ मानिने जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका प्रमुख, उपप्रमुख उम्मेदवार पराजित भए भने नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । ११ वटा वडा रहेको अमरगढीमा पाँचवटा वडामा कांग्रसेका तर्फबाट अध्यक्षका उम्मेदवार विजयी भएका थिए । अमरगढीमा कांग्रेसको बहुमत पुगेको थियो । राजधानी दैनिक