नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दुग्ध विकास संस्थान (डिडिसी)ले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले डिडिसीले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएको भन्दै अब आफ्नो ढंगबाट अघि बढ्ने बताए । उनले अबका दिनमा आफूहरू डिडिसी सँगसँगै जान नसक्ने र किसानलाई संस्थानको भन्दा दुई रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताए । नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ बनाउने निणर्य गरेको अध्यक्ष सापकोटाले बताए ।
त्यस्तै व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढे पनि पछिल्लो निर्णयलाई स्विकार्न नसकिने बताए । उनले संस्थानको पछिल्लो निर्णय व्यावहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रका लागि राम्रो नभएको बताए ।
दुग्ध विकास संस्थानले केही दिनअघि मात्रै शुक्रबारबाट लागू हुने गरी कच्चा दूधको मूल्य नौ रुपैयाँ वृद्धि गरेको थियो । तर, नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले भने आगामी फागुन १ गतेदेखि लागू हुने गरी कच्चा दूधको न्यूनतम मूल्य ५३ रुपैयाँ ४५ पैसाबाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेको छ भने दूरीको अन्तरको आधारमा अन्तिम क्षेत्र र जिल्लाको मूल्य निर्धारण गर्ने बताएको छ ।