चाउचाउ उद्योगमा लागेको आगो अझै पूर्ण नियन्त्रणमा आएन-Sutra News

चाउचाउ उद्योगमा लागेको आगो अझै पूर्ण नियन्त्रणमा आएन

शनिबार, २९ माघ २०७८

शनिबार, २९ माघ २०७८

झापाको मेचीनगरस्थित एक चाउचाउ उद्योगमा लागेको आगो १३ घण्टामा पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडको मगमग चाउचाउमा बिहान साढे ४ बजेदेखि लागेको आगो आंशिक रूपमा नियन्त्रणमा आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।



झापा, मोरङ, सुनसरी र इलामका १५ वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निमन्त्रणको प्रयास गरिरहेको छ । अन्यत्र आगो सर्ने खतरा नभएको र लगभग नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । ‘आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । भित्र सामानमा बलिरहेको छ । नियन्त्रणको प्रयास भइरहेको छ । बाहिर फैलिएर जाने खतरा छैन,’ उनले भने, ‘अब केही घण्टाभित्र नियन्त्रण होला ।’

विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । आगलागी पूणरुपमा नियन्त्रणमा नआएकाले क्षतिको विवरण संकलन गरी नसकिएको उनले बताए । ‘सञ्चालकले एक अर्ब बढी लगानी भएको बताउनुभएको छ । तर, हामीले फिल्डमा हेरेर विवरण संकलन गर्नुपर्छ अनि मात्र यकिन विवरण आउँछ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट